काठमाडौँ, भदौ ६ गते । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले शिक्षा क्षेत्रमा देखिएको वर्गीय विभेद प्रजातान्त्रिक समाजवादको मान्यता विपरीत भएको बताउनुभएको छ ।

नेपाली काङ्ग्रेस, केन्द्रीय पेशागत बुद्धिजीवि विभागले समाजवादी चिन्तक स्वर्गीय प्रदीप गिरीको दोस्रो स्मृति दिवसको अवसरमा आज यहाँ आयोजना गरेको ‘प्रजातान्त्रिक समाजवाद ः वर्तमान र भविष्य’ सम्बन्धी विचार गोष्ठीलाई सम्बोधन गर्दै उहाँले धेरै सामुदायिक विद्यालयमा दरबन्दीअनुसारका शिक्षक नहुँदा माध्यमिक शिक्षा परीक्षा (एसइई)को परिणाम कमजोर आउने गरेको बताउनुभयो । धनी र गरीबले बालबालिका पढाउने शिक्षालय फरक हुने व्यवस्था समाजवादको सिद्धान्त विपरीत भएको उहाँको भनाइ थियो ।

“शिक्षा विधेयक संसद्मा छ, यस्ता विषयमा प्रभावकारी कानुन बनाइनुपर्छ, संविधानले नै समाजवाद उन्मुख राज्यव्यवस्थाको कल्पना गरेकाले शिक्षा क्षेत्रमा रहेको यस्तो विभेदकारी व्यवस्था कानुनबाटै हटाइनुपर्छ”, प्रथम राष्ट्रपति डा यादवले भन्नुभयो । कृषि प्रधान देशमा ५० प्रतिशत खाद्यान्न अन्य मुलुकबाट आयात गर्नुपर्ने अवस्था पनि समाजवादविपरीत भएकाले यसमा सरोकार भएका निकायका अधिकारीले सोच्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

कांग्रेस नेता डा चन्द्र भण्डारीले शिक्षामा विभेद गरेर समाजवाद नआउने भएकाले शिक्षा मन्त्रालय र विश्वविद्यालयले समाजवादी कार्यक्रम बनाउनुपर्नेमा जोड दिनुभयो । बिरामीले औषधी पाउनु समाजवाद भएको बताउनुहुँदै उहाँले स्वास्थ्य क्षेत्रमा पनि दुई थरी स्वास्थ्य संस्थाको व्यवस्थाले समाजवादलाई गिज्याएको बताउनुभयो ।

“संविधानमा लेखिएको समाजवाद कार्यान्वयन नहुने कागजको खोस्टो भएको छ, समाजवाद लागू गर्न निष्ठावान् व्यक्तिको खोजी हुनुपर्छ, जनताले गाडी नचढेसम्म सरकारले दिएको गाडी सुविधा नलिने पूर्व सांसद बिदुर पौडेल, शैलजा आचार्य र चक्रप्रसाद बास्तोला पराजित हुनुले समाजले के चाहन्छ भन्ने सन्देश दिएको छ”, सांसदसमेत रहनुभएको नेता भण्डारीले भन्नुभयो ।

राजनीतिशास्त्रका प्राध्यापक कृष्ण खनालले बिपी कोइराला र प्रदीप गिरीजस्ता नेताको विचारमा कांग्रेस नचलेको बताउनुहुँदै प्रजातान्त्रिक समाजवादमा निजीकरणलाई प्रोत्साहन गर्दा समस्या भएको सुनाउनुभयो । धनी र गरीबलाई अलग शिक्षा दिने परिपाटीको अन्त्य गर्ने आँट नेतृत्वले गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । शिक्षा र स्वास्थ्यमा रहेको सबैभन्दा ठूलो विभेद नै समाजवादका लागि बाधक बनेको खनालको भनाइ थियो । विश्वमा तीन प्रतिशत सम्भ्रान्तले ८० प्रतिशत सम्पत्ति ओगटेकाले त्यसको अन्त्यका लागि प्रजातान्त्रिक समाजवादको सही कार्यान्वयन गर्न अहिलेको नेतृत्वले बिपीले जस्तै जोखिम मोल्नुपर्ने उहाँको विचार थियो ।

त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा उद्धव सिग्देलले कांग्रेसका संस्थापक नेता बिपीले प्रतिपादन गर्नुभएको प्रजातान्त्तिक समाजवादको प्रचारप्रसारमा प्रदीप गिरीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको बताउनुभयो ।

विभाग प्रमुख एवं काङ्ग्रेस केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाले प्रजातान्त्रिक समाजवादका बारेमा राम्रो ज्ञान भएका प्रदीप गिरीको स्मृतिमा कार्यक्रम गरिएको जानकारी दिनुभयो । प्रजातान्त्रिक समाजवादलाई कार्यान्वयनमा लैजान काङ्ग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा उहाँको जोड थियो ।