काठमाडौँ, भदौ ६ गते । राष्ट्रियसभाका सांसद वामदेव गौतमले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकले पीडितलाई न्याय प्राप्तिमा प्रशस्तै बाटो राखेको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथिको दफावार छलफलका क्रममा उहाँले पीडित केन्द्रित सङ्क्रमणकालीन न्याय संरचनाको गठन हुनुपर्नेमा जोड दिनुभयो ।

    कानुन पारित गरेर मात्रै शान्ति प्रक्रिया पूरा नहुनेमा जोड दिँदै उहाँले सङ्क्रमणकालीन न्यायनिरुपण गर्ने आयोग बन्न नसक्नु विडम्बना भएको बताउनुभयो । “कानुन बनेपछि यो प्रक्रियालाई विश्वसनीय बनाउन सरोकारवालाको सहकार्य सुनिश्चित गर्नेतर्फ विशेष ध्यान दिनुपर्छ”, उहाँले भन्नुभयो ।

    नेकपा (एकीकृत समाजवादी)का सांसद वेदुराम भुसालले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकले शान्ति प्रक्रियालाई टुङ्ग्याउन सक्नुपर्नेमा जोड दिनुभयो । रानजीतिक दलबीच भएको सहमति तथा कार्यदलले गरेको सहमतिलाई विश्वास गरेर राष्ट्रियसभाबाट सङ्क्षिप्त रुपमा विधेयक पारित हुन लागेको जानकारी दिँदै उहाँले यो सहमतिले नेपालको शान्ति प्रक्रियालाई टुङ्ग्याउनका निम्ति योगदान गरोस् भन्नुभयो ।

    जनता समाजवादी पार्टी नेपालका सांसद मोहम्मद खालिदले सङ्क्रमणकालीन न्यायका विषयलाई टुङ्ग्याएर मुलुकको समृद्धिमा सबैको ध्यान जानुपर्नेमा जोड दिनुभयो । राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित कानुन र संरचनाले पीडितलाई उन्मुक्ति दिने र पीडितलाई न्याय नदिने आशङ्का व्यक्त गर्नुभयो ।