फाइल तस्वीर

काठमाडौँ, भदौ ५ गते । भारतीय सन्त पाइलट बाबाको ८६ वर्षको उमेरमा भारतको मुम्बइस्थित एक अस्पतालमा निधन भएको छ । मकवानपुरको त्रिखण्डीमा हरि गिरी महाराज नामका नेपाली सन्तसँग उनले सन् १९७४ मा दीक्षा लिएको संहिताशास्त्री अर्जुनप्रसाद बाँस्तोलाले जानकारी दिनुभयो ।

नेपाली गुरुसँग शिक्षा लिनुअघि उनी भारतीय वायुयान सेवामा पाइलट रहेकाले उनलाई पाइलट बाबा भनिएको हो। यही नामले उनी प्रशिद्ध भए । पाइलट बाबाले भक्तपुरको सूर्यविनायक नगरपालिकास्थित घ्याम्पेडाँडामा पाइलट बाबा आश्रम बनाएका छन् । आश्रममा उनी बेला बेलामा आएर बस्ने गर्थे ।

नेपालमा उनका चिकित्सकलगायत विभिन्न पेशा र व्यवसायमा आबद्ध धेरै शिष्य छन्। भारतको प्रयागमा हुने प्रत्येक कुम्भ मेलामा जाँदा नेपालीलाई बस्ने, खानेलगायत सुविधा दिई उनले आश्रय दिने गरेका थिए ।

पाइलट बाबा बिहारको सहर्षा जिल्लाको राजपरिवारका सदस्यका रुपमा जन्मिएका थिए। हरिद्वार र गङ्गोत्रीलगायत धेरै स्थानमा उनले जुना अखडा नामका आश्रम चलाउने गरेका थिए। उनलाई महामण्डलेश्वरको पदवीसमेत दिइएको थियो।

जुना अखडाका सबै आश्रममा मङ्गलबारदेखि तीन दिनसम्म शोक मनाउने जनाइएको छ । उनलाई उत्तराखण्डको पवित्र भूमिमा समाधि गरिने भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । रासस