फाइल तस्वीरः प्रधानमन्त्री केपी शर्मा ओली ।
काठमाडौँ, भदौ ४ गते । प्रधानमन्त्री केपी शर्मा ओली भदौको तेस्रो साता थाइल्याण्डमा हुने छैटौँ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) शिखर सम्मेलनमा जाने कुरा अनिश्चित बनेको छ । यही भदौ १८ र १९ गते थाइल्याण्डमा हुनलागेको छैटौँ बिमस्टेक शिखर सम्मेलनमा भाग लिन जानुहुने कुरा अनिश्चित् बन्न पुगेको हो ।

केही दिनअघिमात्रै थाइल्याण्ड भएको सरकार परिर्वतन, म्यानमारको आन्तरिक द्वन्द्व, सदस्य राष्ट्र बङ्गलादेशमा भएको विद्रोह र सत्ता परिवर्तन, श्रीलङ्कामा हुन लागेको प्रधानमन्त्रीको निर्वाचनलगायतका विषयहरुले बिमस्टेक सम्मेलन प्रभावित हुने देखिएको छ । सोही कारणले प्रधानमन्त्री ओलीको थाइल्याण्ड भ्रमण अनिश्चित बन्न पुगेको छ ।

थाइल्याण्डका प्रधानमन्त्री स्रेथा थाविसिनलाई त्यहाँको संवैधानिक अदालतले गत साउन ३० गते पदमुक्त गरेको थियो । थाविसिन पदमुक्त भएपछि प्रधानमन्त्रीमा पेतोङत्रान सिनावात्रा नियुक्त हुनुभएको छ । सिनावात्रा प्रधानमन्त्रीमा नियुक्त भएसँगै बिमस्टेक सम्मेलन हुने नहुने बारे अझै प्रष्ट भइसकेको छैन । प्रधानमन्त्री सिनावात्राले सो सम्बन्धमा कस्तो नीति लिने हो भन्ने स्पष्ट नहुँदा बिमस्टेक सम्मेलन निर्धारित समयमा नहुने हो कि भन्ने संसय पैदा भएको छ ।

बिमस्टेक सम्मेलन गर्न तयभएको मिति आउन अब दुई हप्ता मात्र बाँकी छ । तर थाइ सरकारको यसबारेमा कुनै प्रतिक्रिया दिएको छैन । थाइ सरकारमा नयाँ नेतृत्व आएपछि अन्योल बन्न पुगेको बिमस्टेक सम्मेलन निश्चित नबन्दा प्रधानमन्त्रीको थाइल्याण्ड जाने कार्यतालिका प्रभावित हुन पुगेको छ ।

परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री ओली जाने सम्बन्धमा आन्तरिक तयारी सुरु भएको थियो । सम्मेलनको आयोजक राष्ट्रमा प्रधानमन्त्री परिवर्तन भएपछि अन्योलता बढेको छ भने बिमस्टेक सदस्य राष्ट्रहरु आन्तरिक समस्यामा जकडिन पुगेकाले पनि सम्मेलन तोकिएको मितिभन्दा पर धकेलिने सम्भावना बलियो बन्दै गएको छ ।

बिमस्टेक सम्मेलनलाई भारतमा साउन ७ गते बिमस्टेक विदेश मन्त्रीस्तरीय बैठक बसेको थियो । त्यसपछि साउन १७ गते थाइल्याण्डमा सम्मेलनको तयारी बैठकसमेत बस्यो । त्यसयता सम्मेलनका सम्बन्धमा कुनै पनि बैठक बस्न सकेको छैन ।

बङ्गलादेशका अन्तरिक सरकारको प्रधानमन्त्री मोहम्मत युनुसले त्यहाँको सरकारको नेतृत्व गरेता पनि बङ्गलादेशको अवस्थामा अपेक्षाकृत सुधार भएको छैन भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सम्बन्ध पनि बङ्गलादेशका प्रधानमन्त्री युनुुससँग राम्रो छैन ।

यिनै विभिन्न कारणमा भदौको तेस्रो साताका लागि निश्चित् गरिएको बिमस्टेक सम्मेलन हुने नहुनेमै अनिश्चितता बढेको छ ।