फाइल तस्वीरः स्थायी समितिको बैठक ।
काठमाडौँ, भदौ ४ गते । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) भोलिदेखि प्रदेशस्तरीय परामर्श समितिको बैठकको थालनी गर्नेभएको छ । अघिल्लो साता सम्पन्न पार्टीको स्थायी समिति बैठकले प्रदेशस्तरीय परामर्श समितिको बैठक बस्ने निर्णय गरेअनुसार भोलिदेखि सुरुगर्न लागेको हो ।

माओवादी केन्द्रका उपाध्यक्ष एवम् बागमती प्रदेशका इञ्चार्ज अग्नि सापकोटाका अनुसार भोलि बुधबार बिहान ११ बजे पार्टी मुख्यालयमा बागमती प्रदेशका केन्द्रीय सदस्यहरूको बैठक बोलाइएको छ । बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू, महासचिव, उपमहासचिवहरू र प्रदेशका पदाधिकारीहरू सहभागी हुनुहुने बताइएको छ । भोलिको बैठकमा स्थायी समितिको निर्णय, परिपत्रसहितका प्रस्तावमाथि परामर्श लिइने छ ।

पार्टीको प्रवक्ता समेत रहनुभएका उपाध्यक्ष सापकोटाका अनुसार अन्य प्रदेश र मोर्चा कमिटीहरूको बैठक आगामी असोज ३ गतेसम्म सम्पन्न गरिनेभएकोछ ।
माओवादी केन्द्रले कुन कुन प्रदेशमा प्रदेशस्तरीय परामर्श समितिको बैठक बस्नेभनेर मितिसमेत तोकिसकेको छ । जसअनुसार भदौ ७ र ८ गते दुई दिन उपत्यका विशेष तथा सम्पर्क समन्वय प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूको बैठक बस्नेछ ।
यसैगरी भदौ ९ र १० गते गण्डकी प्रदेशका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूको बैठक बस्नेछ भने भदौ १२ र १३ गते सुदूरपश्चिम प्रदेशबाट केन्द्रीय सदस्य रहेकाहरु र प्रदेश पदाधिकारीहरूको बैठक हुने कार्यतालिका रहेको छ ।
स्थायी समितिले तय गरेको कार्यतालिका अनुसार कर्णाली प्रदेशमा भदौ १४ र १५ गते, लुम्बिनी प्रदेशमा भदौ १६ र १७ गते र मधेस प्रदेशमा भदौ २२ र २३ गते केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूको बैठक बस्ने भएको छ ।

 पार्टीका तीनवटा केन्द्रीय आयोगका सदस्यहरूको बैठक भदौ १८ र १९ गतेका लागि राखेको माओवादी केन्द्रले पूर्व, १ नम्बर प्रदेशका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूको बैठक भदौ २४ र २५ गतेका लागि राखेको छ ।
यसैगरी जनवगीय सङ्गठन मोर्चामा कार्यरत पार्टी केन्द्रीय सदस्यहरू र केन्द्रीय विभागहरूमा कार्यरत पार्टी केन्द्रीय सदस्यहरूको बैठक २७ र २८ गते बस्ने कार्यतालिका छ भने प्रवास प्रदेशमा कार्यरत पार्टी केन्द्रीय सदस्यहरू र प्रदेश पदाधिकारीहरूको बैठक भदौ ३१ गते र असोज १ गतेका लागि राखिएको छ ।
पार्टीकै ज्येष्ठ कम्युनिस्ट मञ्च र केन्द्रीय सल्लाहकारहरूको बैठक भने असोज २ र ३ गते काठमाडौँमा राख्ने बताइएको छ ।