फाइल तस्वीर
काठमाडौँ, भदौ ३ गते । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने उपाकर्म, ऋषितर्पणी र रक्षाबन्धन आइतबार विधिपूर्वक स्नान, ऋषि तर्पण र हातमा डोरो बाँधी मनाइँदैछ। सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन तथा विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेको रक्षाबन्धनको परम्परा आज पनि प्रचलित छ।

सोही कारण रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितहरूले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेनी त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिए। मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरूले यजमानको नाडीमा बाँधिदिने गरिन्छ।

जनैपूर्णिमामा भद्रा भएकाले रक्षाबन्धन गर्न दोष लाग्छ कि लाग्दैन भन्ने बहस चलिरहेका बेला भद्राको दोष नलाग्ने ज्योतिष शास्त्रका विद्वान्हरूले बताएका छन् । नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गतको वाल्मीकि विद्यापीठमा आइतबार बसेको ज्योतिषाचार्य एवं संहिता शास्त्रको बैठकले भद्राको दोष जनैपूर्णिमा, रक्षाबन्धनका निमित्त सर्वसाधारणलाई नलाग्ने निष्कर्ष निकालेको हो।

यो दोष राजाहरूलाई मात्रै लाग्ने संहिताशास्त्री अर्जुनप्रसाद बाँस्तोलाले जानकारी दिए । “कन्या, धनु, तुला र मकर राशिमा चन्द्रमा हुँदा, भद्रा पाताल लोकमा हुने हुँदा भद्राको दोष पातालवासीलाई मात्रै लाग्छ पृथ्वीवासीलाई लाग्दैन, राजा महाराजालाई समेत दोष नलाग्ने कुराको शास्त्रीय प्रमाण छ”, उनले भने ।
ज्योतिष शास्त्रको ग्रन्थ बृहत्संहितामा भनिएको छ–
कुंम्भकर्कद्वये मत्र्येकब्जे स्वर्गेकजात्रयेकलिगे।
स्त्रीधनुर्जूकनक्रेकधो भद्रा तत्रैव तत्फलम्।।

यही प्रमाणका आधारमा पनि भद्राको दोष नलाग्ने ज्योतिषाचार्यहरुको निष्कर्ष छ । बैठकमा प्रा डा माधवप्रसाद पाण्डेय, सहप्राध्यापक जयन्त आचार्यलगायत ज्योतिषाचार्यको उपस्थिति थियो।

यसअघि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले पनि सर्वसाधारणलाई भद्राको दोष नलाग्ने भएकाले जनैपूर्णिमा र रक्षाबन्धनका कर्म गर्न कुनै समस्या नरहेको विज्ञप्तिमार्फत सार्वजनिक गरिसकेको छ ।

आजकै दिन तागाधारीले आफ्नो जनै (यज्ञोपवित) फेर्छन्। यसका लागि हिजैदेखि कपालमुण्डन गरी एक छाक मात्र खाएर चोखोनितो गरी बसिन्छ। यसरी व्रत बसेका तागाधारीले आज बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दत्तिउन र सप्तमातृका लगाएर स्नान गर्छन्। यसलाई श्रावणी स्नान पनि भनिन्छ।

स्नानपछि जौ, तिल र कुशद्वारा ऋषिलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै फेरिन्छ। कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम,जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवं तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिएको छ।