काठमाडौँ, भदौ २ गते । सङ्घीय संसद्को पूर्वाधार विकास समितिमा ‘जलस्रोतसम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न विधेयक’ माथिको छलफल सुरु भएको छ । समितिको आजको बैठकमा विधेयकमाथि संशोधन राख्नुभएका सांसदसँग छलफल सुरु गरिएको सभापति दीपकहादुर सिंहले जानकारी दिनुभयो ।

तत्कालीन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले गत जेठ ३१ गते सो विधेयक सङ्घीय संसद्मा दर्ता गराउनुभएको थियो । प्रतिनिधिसभामा गत असार १७ गते सामान्य छलफल गरी असार २५ गते दफावार छलफलका लागि समितिमा पठाइएको थियो ।

विधेयकमाथि सांसदले कूल एक सय ५७ वटा संशोधन प्रस्ताव दर्ता गर्नुभएको छ । विधेयकमाथि प्राप्त भएका संशोधन प्रस्तावलाई क्रमैसँग छलफल गरी टुङ्गोमा पु¥याउने लक्ष्यका साथ समितिले छलफल थालेको हो ।

नेपालको संविधानको धारा ५१ बमोजिम प्राकृतिक स्रोत एवम् साधनको संरक्षण, समृद्धि र उपयोगसम्बन्धी नीतिको कार्यान्वयनका लागि कानुनी तथा संस्थागत व्यवस्था गर्ने सो विधेयकको उद्देश्य छ ।

यस्तै, सतह तथा भूमिगत जलस्रोतको उपयोग, विकास तथा संरक्षण गर्न, एकीकृत जलस्रोत विकासको सिद्धान्तलाई कार्यान्वयन गर्न, जलस्रोतको संरक्षण, गणुस्तर नियन्त्रण तथा प्रदूषण नियमनलाई प्रभावकारी बनाउने उद्देश्य छ । यस्तै, जलस्रोतसम्बन्धी सूचना तथा तथ्याङ्कलाई आधुनिक, व्यवस्थित तथा वैज्ञानिक बनाउने विधेयकको उद्देश्य छ । जलस्रोतको बहुउद्देश्यीय उपयोगलाइ दिगो, प्रभावकारी र व्यवस्थित बनाउने उद्देश्य राखेर विधेयक पेस गरिएको हो ।