काठमाडौँ, भदौ २ गते । राष्ट्रियसभाको आजको बैठकमा सांसद मायाप्रसाद शर्माले बाढीपहिरोबाट देशैभरि जनधनको क्षति भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ । आजको बैठकको शून्य समयमा उहाँले भन्नुभयो, “भेरी कोरिडोर जोड्ने डोल्पा खण्डमा बाढीपहिरोका कारण आवगमनमा सास्ती भएको छ, पानी पर्ने बित्तिकै खोला वारिपारि गाडी र पैदलयात्रा गर्न समस्या हुन्छ, सरकारले विशेष ध्यान दिएर यथाशघ्रि पुनःनिर्माणमा सहयोग गर्नु आवश्यक छ ।”

सांसद भगवती न्यौपानेले भन्नुभयो, “राष्ट्रिय मर्यादासम्बन्धी विधेयकमाथि आवश्यकताका आधारमा छलफल गरी आएको हो । अन्तर्राष्ट्रिय अभ्यासका आधारमा अध्ययन गरी राष्ट्रियसभाबाट पारित गरेको उक्त विधेयक प्रतिनिधिसभामा पठाइसकेपछि अहिले रोकिएको छ ।”

सांसद राधेश्याम पासवानले दलित अभियन्ता खगेन्द्र सुनुवार संवैधानिक अधिकार लागू गराउन पाँचबुँदे माग राखेर माइतीघरमा आन्दोलनरत भए पनि सरकारले उहाँको मागप्रति कुनै सुनुवाइ नगरेको गुनासो गर्नुभयो । “दश दिनदेखि माइतीघर मण्डलामा प्रदर्शन गर्दै आउनुभएका दलितका लागि दलित अभियान, नेपालका संयोजक खगेन्द्र सुनारले सरकार निर्माण तथा राजनीतिक नियुक्तिलगायत सबै क्षेत्रमा दलित समुदायको समानुपातिक समावेशी प्रतिनिधित्वको माग गर्दै आउनुभएको छ । उहाँका जायज माग सरकारले पूरा गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

सांसद सुमित्रा बिसीले भन्नुभयो, “देशैभरि बाढीपहिरो र सोलुखुम्बुमा हिमताल फुटेर क्षति भएको छ, कर्णाली प्रदेशमा वन्यजन्तुले, दैलेखको महाबु गाउँपालिकाका केही वडामा बाँदरले खेतीबालीमा नोक्सानी पु¥याउँदा किसानहरु पीडित बनेका छन् । सरकारले मानव र वन्यजन्ती बीचको द्धन्द्ध न्यूनीकरणमा नीति बनाएर कार्यान्वयन गर्नु आवश्यक छ ।”