काठमाडौँ, भदौ २ गते । परराष्ट्रमन्त्री आरजु राणा देउवा पाँच दिने भारत भ्रमणमा जाने हुनुभएको छ । परराष्ट्र मन्त्रालयले जारी गरेको एक विज्ञप्ति अनुसार भारतीय विदेशमन्त्री एस जयशङ्करको निमन्त्रणमा परराष्ट्रमन्त्री देउवाले आज आइतबार देखि आगामी बिहिबारसम्म भारत भ्रमण गर्ने हुनुभएको हो ।


साउन ३१ गते बसेको मन्त्रिपरिषद्को बैठकले परराष्ट्रमन्त्री राणाको भारत भ्रमणको कार्यतालिका स्वीकृत गरेको थियो । भ्रमणका क्रममा मन्त्री राणाले भारतीय विदेशमन्त्री यस जयशङ्करसँग भेटवार्ता गर्नुका साथै दुई देशीय सम्बन्धका बारेमा छलफल गर्नुहुने कार्यक्रम रहेको बताइएको छ ।

परराष्ट्रमन्त्री देउवा भेटवार्ताका कार्यक्रम सम्पन्न गरी आगामी बिहिबार अर्थात् भदौ ६ गते स्वदेश फिर्ता हुनुहुने कार्यक्रम रहेको छ ।