काभ्रेपलाञ्चोक, भदौ १ गते । काभ्रेपलाञ्चोकको बनेपास्थित गोसाइँस्थानमा साउन शुक्ल पूर्णिमाको दिन अर्थात् जनैपूर्णिमा/रक्षाबन्धनका अवसरमा मेला लाग्छ । गोसाइँस्थानमा जिल्ला तथा छिमेकका विभिन्न जिल्लाबाट आएकाले अघिल्लो दिनदेखिनै जात्रामा सामेल हुने तयारी गर्छन् । विशेषगरी मेलाको दिन विहान दुई बजेदेखिनै भक्तजनको भीड लाग्ने गर्दछ ।

रसुवाको धार्मिकस्थल गोसाइँकुण्डसँग यहाँको गोसाइँस्थानको महत्व जोडिएका कारण पनि यसलाई धार्मिक दृष्टिकोणले निकै महत्वपूर्ण स्थलका रुपमा लिइएको हो । बनेपा–६ स्थित गोसाइँस्थानमा वर्षेनी जनै धारण गर्ने तथा शिव मन्दिरमा दर्शन तथा पूजाअर्चना गर्न दर्शनार्थीको भीडभाड देखिने गर्दछ । यहाँ विशेषगरी हरेक वर्ष जनैपूर्णिमाको दिन मेला लाग्ने गरेको हो । यो पटक सोमबार उक्त स्थानमा भव्य मेला लाग्दैछ । 

विभिन्न जिल्लास्थित क्षेत्रबाट आउने भक्तजन पैदल यात्रा गरेरै त्यहाँ पुग्न रुचाउँछन् । उक्त स्थानमा हिन्दू र बौद्धधर्म परम्पराअनुसार पूजा र दर्शन गर्ने गरिन्छ । हिन्दू धर्म–संस्कार अनुसार त्यहाँ रहेको शिव मन्दिरमा पूजा गर्ने र ब्राह्मणबाट रक्षाबन्धन र टीका लगाइन्छ । यस्तै तामाङ समुदायका मानिस तथा ‘झाँक्री’हरु ढ्याङग्रो बजाउँदै विभिन्न तरिकाले पूजा र दर्शन गर्ने गर्दछन् । नेवार समुदायले अन्तपात चढाउने, ब्राम्हण समुदायले जनै लगाउने र हातमा रक्षाबन्धन (डोरो) बान्ने प्रचलन रहेको हो । 

सो जात्रामा महिला र पुरुषबीचमा तामाङ दोहोरी गीत गाएर आफ्ना मनका भावनाहरु साटासाट गरेर रमाइलो गर्ने प्रचलनसमेत रहँदै आएको छ । धार्मिक आस्थाका हिसावले निकै महत्वपूर्ण मानिएको उक्त मेलामा काभ्रेपलगायत काठमाडौँ, ललितपुर, भक्ततपुर, सिन्धुपाल्चोकका भक्तजन आउने गर्दछन् । 

गत वर्षभन्दा यसवर्ष गोसाइँस्थान क्षेत्र थप ब्यवस्थित बनाइएको गोसाइँस्थान संरक्षण समितिका अध्यक्ष भेषराज शाहले बताउनुभयो । उहाँका अनुसार ‘लकडाउन’यता बर्षेनी भक्तजनको उल्लेख्य वृद्धि भइरहेको छ । जात्रा अवधिभर बनेपाको बुडोलदेखिनै सडक दायाँबाँया व्यापारिक चहलपहल पनि निकै बढ्ने गर्दछ । 

रसुवाको गोसाइँकुण्ड पुग्न नसक्नेले बनेपाको गोसाइँस्थानमा गएर दर्शन गर्ने प्रचलन रहँदै आएको स्थानीय बुढापाका बताउँछन् । “गोसाइँकुण्ड पुग्न नसक्नेले यहाँको गोसाइँस्थानमा गएर दर्शन गरी स्नान गर्नाले मनोकाङ्क्ष्या पूरा हुन्छ”, स्थानीय भैरव केसीले भन्नुभयो । समुद्र सतहदेखि १४ हजार एक सय फिटको उचाइमा अवस्थित पवित्र उक्त कुण्ड निकै टाढा, उकालोमा कठिनाईपूर्वक जानुपर्ने भएकाले अधिकांश भक्तजन अघिल्लो दिनदेखिनै कुण्डस्थलमा बास बस्न पुग्छन् । 
यस्तै केही भक्तजन बीचबाटोमा बास बसी पर्वका दिन तीर्थस्थल पुगेका हुन्छन् । गोसाइँकुण्डमा स्नान गरी पूजा आराधना, कुण्डको जलाशयमा फूल–प्रसाद चढाउँदा सम्पूर्ण देवदेवताको दर्शन मिल्न गई आफूले सोचेका सबै कुरा पूरा हुने धार्मिक मान्यताअनुरूप जानेलाई आफ्नो मनोकाङ्क्ष्या पूरा भई घरपरिवारमा सुख शान्ति बढ्ने र पारिवारिक मिलनमा थप प्रगाढ हुने विश्वास रहिआएको छ । 

काभ्रेपको पुरानो एवं मध्य पहाडी क्षेत्रको मुख्य बजार बनेपाबाट उत्तर–पूर्वितर्फ हरियाली भएर उभिएको गोसाइँस्थान डाँडा धार्मिक र पर्यापर्यटनको दृष्टिकोणले प्रसिद्ध ठाउँ हो । ब्यपारिक बनेपा र पर्यटकीय धुलिखेल बजारको बीचमा रहेको उक्त ठाउँमा धार्मिकस्थल गोसाइँस्थान र त्यसमाथिको अग्लो डाँडामा रहेको दृश्यावलोकन स्तम्भले सो डाँडा निकै प्रसिद्ध रहेको जनाउँछ ।उक्त स्थानमा हाल गुरुकुल विद्यालय सञ्चालनले थप चहलपहल बढाएको छ । 
बढ्दो सहरिकरणको कोलाहलबाट नजिकै रहेको हरियाली वनजङ्गलको बीचको अग्लो मनमोहक स्थान भएका कारण निकै शान्त, रमणीय र मनोरञ्जन लिनका साथै धार्मिक दृष्टिकोणले महादेव मन्दिरको दर्शन गर्न पाइने पवित्र ठाउँ भएकाले पनि आकर्षक केन्द्रका रुपमा रहेको चर्चा कमाउँदै आएको छ । उक्त ठाउँमा पछिल्लो बर्षदेखि पर्यटकको आवागमनमासमेत बृद्धि हुँदै गएको पाइन्छ । उक्त स्थानमा पर्यटकीय पूर्वाधार तथा पक्की सडक सुविधा र थप भौतिक संरचना निर्माणले भने आन्तरिक एवं बाह्य पर्यटकले गोसाइँस्थान पुग्न रुचाएका हुन् । 

सो स्थानमा हरेक शुक्रबार र शनिबार दृश्यावलोकन स्तम्भ (टावर)चढ्ने तथा त्यहाँका प्राकृतिक मनमोहकस्थल घुम्नका लागि धेरै मानिस आउँछन् । “गोसाइँस्थान र दृश्यावलोकनस्तम्भ क्षेत्र जाने सडक, सिँढी र अन्य थप भौतिक संरचना निर्माणले घुम्न जानेको सङ्ख्या बृद्धि हुँदै गएको छ”, स्थानीय दीपक कार्कीले भन्नुभयो । उहाँका अनुसार उक्त स्थानमा नयाँ मुक्तिनाथ मन्दिर, हनुमान मन्दिर निर्माणसँगै घण्टा राखिएको छ । रामायण भजन गर्ने भवन, पक्की शौचालय निर्माण भैसकेको छन् भने उद्यान निर्माणको तयारी भएको छ । 

सो क्षेत्रमा गोसाइँस्थान मन्दिर परिसर क्षेत्रमा हाल नैमिषारण्य संस्कृत गुरुकूल स्थापना भएको छ । धुलिखेलस्थित अरनिको राजमार्गदेखि धुलिखेल–रविओपी–काँशिभञ्ज्याङसम्मको पक्की सडक निर्माण भइसकेको छ । यहाँबाट हाईकिङ गर्दै अर्को पर्यटकीयस्थल नगरकोट पुग्न सकिन्छ ।