मोरङ, साउन ३१ गते । नेपाली काङ्ग्रेसका नेता डा शेखर कोइरालाले कोशी प्रदेश सरकारमा नेपाली काङ्ग्रेस आगामी एक हप्ताभित्र सहभागी हुने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले सरकार विस्तार सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काङ्ग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल भइरहेको जानकारी दिनुभयो ।

नेता कोइरालाले भन्नुभयो, “हाम्रा कारणले प्रदेश सरकार विस्तार हुन नसकेको आरोप गलत हो ।” उहाँले विगत एक वर्षदेखि आफूले एमाले र काङ्ग्रेसबीच गठबन्धन हुनुपर्छ भनेका यो सरकारलाई भत्काउने कार्य आफूबाट कुनै हालतमा नहुने बताउनुभयो । 

नेता कोइरालाले राजनीतिक स्थायित्वका लागि वर्तमान गठबन्धन आवश्यक भएको विचार राख्नुभयो । उहाँले संविधानमा लेखिएअनुसार समावेशी समानुपातिक कायम राखी संविधानमा सुधार गरी निर्वाचन प्रणाली संशोधन गरी बहुमतको सरकार निर्माण हुनेतर्फ अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । 

फरक प्रसङ्गमा उहाँले आगामी १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवार आफू हुने जानकारी दिँदै तोकिएकै समयमा महाधिवेशन हुनुपर्ने धारणा राख्नुभयो ।