काठमाडौँ, साउन ३१ गते । भारतीय दूतावास, लैनचौरमा आफ्ना आमाहरुको सम्मानमा सबैलाई वृक्षरोपण गर्न आग्रह गर्दै ‘एक पेड माँ के नाम’ अभियानअन्तर्गत वृक्षरोपन गरिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्व वातावरण दिवस, २०२४ का अवसरमा ‘एक पेड माँ के नाम’ अभियान शुभारम्भ गर्नुभएको थियो । सो अभियानलाई भारतीय जनताको समर्थन र सहभागितासहित सफल कार्यक्रमका रूपमा भारतभर लिइने गरेको छ ।

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले आज लैनचौरस्थित दूतावास परिसरमा नीलो गुलमोहरको बिरुवा रोपेर वातावरण संरक्षण एवं संवद्र्धन अभियानमा ऐक्यबद्धता जनाउनुभयो ।  दुईदिने नेपाल भ्रमणका क्रममा भारतीय विदेश सचिव विक्रम मिस्री पनि यही साउन २७ गते दूतावास परिसरमा नीलो गुलमोहरको बिरुवा रोपेर सो अभियानमा सरिक हुनुभएको थियो ।

वातावरण संरक्षण तथा वातावरणीय दिगोपन प्रवद्र्धन गर्न भारतीय ‘डायस्पोरा’का सदस्य एवं भारत–नेपाल मैत्री सङ्घका पदाधिकारी तथा प्रतिनिधिहरूले दूतावास परिसरमा बिरुवाहरु रोपी अभियानमा ऐक्यबद्धता व्यक्त गरेको थिए ।

‘एक पेड माँ के नाम’ पहलसँगै नेपालस्थित भारतीय दूतावास, लैनचौरले आज विभिन्न जातका ७८ वटा बिरुवा दूतावास परिसरमा रोप्दै भारतको ७८औँ स्वतन्त्रता दिवस मनाएको छ ।