फाइल तस्वीर
काठमाडौँ, साउन ३१ गते । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले आगामी भदौ महिनाको पहिलो साता पार्टी केन्द्रीय समितिको बैठक राख्ने भएकोे छ । पार्टी पदाधिकारी र स्थायी समितिको बैठक सकेलगतै केन्द्रीय समितिको बैठक डाक्ने पूर्व योजना अनुसार भदौको पहिलो साता उक्त समितिको बैठक राख्ने तयारी भएको हो ।

पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबारदेखि जारी बैठकमा पार्टीका नेताहरुले उठाएका विषयमा आज बिहीबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिनुहुने बताइएको छ । माओवादी स्थायी समिति बैठकमा बोलेका ४२ नेताले पार्टी नेतृत्वको कार्यशैली, पार्टी संरचना, नीति र विधिबारे विभिन्न प्रश्न उठाउनुभएको छ ।

बैठकमा पार्टीका उपमहासचिव जनार्दन शर्माले नेतृत्त्वको आलोचना गर्दै प्रचण्डलाई संरक्षक मात्रै बनाएर पार्टी नेतृत्व तेस्रो तहमा हस्तान्तरण गर्नुपर्ने लिखित प्रस्ताव नै पेश गर्नुभएको थियो । अर्का उपमहासचिव वर्षमान पुनले समेत पार्टीको नीतिगत कुरा विषयमा पनि कुरा उठाउनुभएको थियो । त्यसोत पदाधिकारी बैठकमा नेता हरिबोल गजुरेलले पार्टीलाई पुनर्संरचना गर्न अध्यक्षलगायत सबै पदाधिकारीहरुले राजीनामा दिएर अगाडि बढ्न सुझाउनुभएको थियो ।

पार्टीको आगामी केन्द्रीय समितिको बैठकमा माओवादी केन्द्रमा देखिएको विकृति र विसङ्गगतिका बारेमा तिव्र आलोचना हुने सम्भावना छ । केन्द्रीय समितिको बैठक भदौ महिनाको पहिलो साता बस्ने गरी मिति र समय आजको बैठकले निर्धारण गर्नेछ ।