फाइल तस्वीरः प्रतिनिधिसभाको बैठक ।
काठमाडौँ, साउन ३० गते । प्रतिनिधिसभामा छलफलका लागि पेश गरिएको सङक्रमणकालीन न्यायसम्बन्धी (टिआरसी) विधेयक पास भएको छ । प्रतिनिधिसभाको आज बुधबार बसेको बैठकले पास गरेको हो ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले आज बसेको प्रतिनिधिसभा प्रस्तुत गर्नुभएको ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक’लाई बैठकले पारित भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकमा बोल्दै अबको दश दिनभित्र टिआरसी विधेयकलाई कानूनमा रुपान्तरित गर्ने सरकारको लक्ष्यरहेको बताउनुभएको थियो । प्रतिनिधिसभाबाट आज पास गरिएको उक्त विधेयकलाई राष्ट्रियसभामा पठाइने र त्यहाँबाट पुनः पास गरेर उक्त विधेयकलाई फेरी प्रतिनिधिसभामा नै फिर्ता पठाइने छ । प्रतिनिधिसभामा प्राप्त भइसकेपछि सभामुखबाट प्रमाणित भएर प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाइने छ । राष्ट्रपतिले उक्त विधृयक प्रमाणीकरण गरेपछि मात्रै कानून बनाइने छ ।

सरकारले टिआरसी विधेयक २०७९ फागुन २५ गते संसदमा दर्ता गरेको थियो । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार कानुन समितिले विधेयक पास गर्नुअघि मुख्य विवादित विषयमा प्रमुख तीन राजनीतिक दल काङ्ग्रेस, एमाले र माओवादी केन्द्र सम्मिलित कार्यदलले विवादित विषयमा सहमति जुटाएर तयार गरेको प्रतिवेदनलाई शीर्ष नेताहरुले स्वीकार गरेपछि संसदीय समितिले समेत अनुमोदन गरेपछि प्रतिनिधिसभामा प्रस्तुत गरिएको थियो ।