फाइल तस्वीर मुख्यमन्त्री कमलबहादुर शाह ।
धनगढी, साउन ३० गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिंदै हुनुहुन्छ । सुदूरपश्चिम प्रदेशसभाको आज बुधबार बस्ने बैठकमा मुख्यमन्त्री शाहले विश्वासको मत लिन लाग्नुभएको हो ।

सत्ता समीकरण बदलिए पछि नेपाली काङ्ग्रेस, नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीको गठबन्धनबाट मुख्यमन्त्री बन्नुभएका शाहलाई बहुमतका लागि २७ मत भए पुग्नेछ । कुल ५३ प्रदेशसभा सदस्य रहेको उक्त प्रदेशमा नेपाली काङ्ग्रेसको १८ सिट, एमालेको ११, माओवादी केन्द्रको ११, नागरिक उन्मुक्ति पार्टीको ७, एकीकृत समाजवादीको ४, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्रको १÷१ सिट रहेको छ ।

गठबन्धनमा रहेका दल काङ्ग्रेस १८, एमाले ११ र नागरिक उन्मुक्ति पार्टीको ७ गरी ३६ मत देखिन्छ । मुख्यमन्त्रीले यही आधारमा आज विश्वासको मत पाउनुहुने निश्चित छ ।