प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सोविता गौतम

काठमाडौँ, साउन २९ गते । प्रतिनिधिसभाको बैठकमा सांसदहरुले हवाईयात्रा असुरक्षित भएकामा चिन्ता व्यक्त गरेका छन् । साथै उनीहरूले नागरिक उड्डयनलाई सुरक्षित बनाउन सरकारको ध्यान आकृष्ट गरेका छन् ।

बैठकको आकस्मिक समयमा सांसद सोविता गौतमले देशको हवाईयात्रालाई सुरक्षित बनाउन कानुन आवश्यक भए त्यो पनि शीघ्र तर्जुमा गर्नुपर्नेमा जोड दिनुभयो ।

“देशको उड्डयन क्षेत्रमा गम्भीर समस्या देखिएको छ, यस क्षेत्रलाई सुरक्षित बनाउन सम्बन्धित सबै निकायलाई आग्रह छ । यो क्षेत्रलाई व्यवस्थित बनाउने कानुन शीघ्र तर्जुमा गरौँ”, सांसद गौतमले भन्नुभयो ।

सांसद बिना लामाले पछिल्लो समयमा हवाई र सडकयात्रा असुरक्षित बन्दै गएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । “सडक पनि सुरक्षित छैन, सुरक्षित मानिएको हवाई क्षेत्र पनि असुरक्षित भयो ।”

सांसद वीरेन्द्रप्रसाद महतोले सिरहा जिल्ला, कल्याणपुर–३ का २० वर्षीय युवा अरुण शर्मा विगत ३५ दिनदेखि काठमाडौँबाट हराएका तथा हालसम्म फेला नपरेकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले नदीको कटानका कारण तराई बस्ती धरापमा परेका भन्दै तटबन्धनको माग गर्नुभयो ।
–––