काठमाडौँ, साउन २९ गते । प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलका केही सांसदले बोल्दाबोल्दै विद्युत् अवरुद्ध भएपछि त्यसको विरोध गर्नुभएको छ । बैठकको आकस्मिक समयमा सांसद हरि ढकालले आफू बोलिरहेका बेला ‘माइक’ काटिएको भन्दै विरोध जनाउनुभयो । विद्युत् महसुलका विषयमा बोलिरहँदा माइकको लाइन काटिएपछि उहाँले आफ्ना भनाइ राख्न पाउनुपर्ने माग गर्नुभएको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले विद्युत् महसुलको विषयमा बोल्दाबोल्दै माइक काटिएको हुनाले समय तोकेर सांसद ढकाललाई बोल्न दिनुपर्ने माग गर्नुभयो ।

 राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जनताका प्रतिनिधिले जनताका चासोबारे बोल्न पाउनुपर्ने माग गर्नुभयो । बैठक केहीबेर अवरुद्ध भएपछि अहिले सञ्चालन भएको छ । 

त्यसअघि, सभामुख देवराज घिमिरेले आफूहरुले बनाएको नियमावलीअनुसार बैठकलाई मर्यादित ढङ्गले सञ्चालनमा सघाउन सांसदहरुसँग अनुरोध गर्नुभएको थियो ।