काठमाडौँ, साउन २८ गते । नेपाली काङ्ग्रेसका नेता डा.शेखर कोइरालाले कृषि क्षेत्रको उचित प्रयोग गरे युवालाई नेपालमै राख्न सकिने बताउनुभएको छ । आज यहाँ तिलगङ्गामा अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युथ फर नेशन नेपालद्वारा आयोजित ‘रोल अफ युथ इन द प्रोसेस अफ बिल्डिङ’ विषयक कार्यक्रममा नेता डा कोइरालाले युवाको आकर्षण विदेश भइरहेकोमा चिन्ता व्यक्त गर्दै स्वदेशमै अवसर सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो । “हामीले हाम्रो खेतलाई कृषिमा प्रयोग गर्न सके धेरै युवालाई त्यसले रोजगारी दिन सक्छ, नेपालीले पुग्ने खाद्यान्न त्यही उत्पादन हुन्छ तर हामी हाम्रो घरको युवा विदेशिएकोमा खुसी छौँ । यो राम्रो होइन”, उहाँले भन्नुभयो । युवालाई शिक्षा र रोजगारीका लागि सरकार र सम्बन्धित निकाय गम्भीर नभए आउँदो समय थप अनुत्पादक हुने डा कोइरालाको भनाइ थियो ।

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का अध्यक्ष डा बद्री केसीले संसारभर परिवर्तनका कारक युवा नै भएकाले नेपालमा पनि युवा परिचालनको उचित नीति आवश्यक रहेको धारणा राख्नुभयो । “जसरी युवाले देश छाडिरहेका छन्, त्यसलाई नियम कानुनले भन्दा पनि अवसर सिर्जना गरेर रोक्नु अहिलेको आवश्यकता हो”, अध्यक्ष डा केसीले भन्नुभयो । उहाँले प्रवासमा रहेका नेपालीले रेमिट्यान्स पठाउनुलाई मात्र सफलता मान्न नसकिने उल्लेख गर्नुहुँदै युवालाई नेपाल फर्किने वातावरण बनाउन आग्रह गर्नुभयो ।

बागमती प्रदेशसभा सदस्य याङ्किला शेर्पाले अवसरको खोजीमा बसाइँसराइ गर्ने प्रवृति रहेकाले अवसर सिर्जनामा लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो । “ युवाहरू अवसर खोज्न गाउँबाट सहर र सहरबाट प्रवासतिर गइरहेका छन् । आफ्नै ठाउँमा अवसर सिर्जना गरेर यो समस्या समाधान गर्न सकिन्छ”, उहाँले भन्नुभयो ।

भारतीय प्रोफेसर डा दुर्गसिंह चौहान, सशस्त्र प्रहरी बलका पूर्वमहानिरीक्षक (आइजी) सनतकुमार बस्नेत, चलचित्र निर्देशक तथा कलाकार आकाश अधिकारी, पूर्वन्यायाधीश आनन्दमोहन भट्टराईलगायतले देशमा युवाको आवश्यकता र उनीहरू विदेशिनुको बाध्यताका विषयमा चर्चा गर्नुभयो ।