सुनसरी, साउन २८ गते । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुलुकको आर्थिक आयआर्जन बढाउने गरी काम गर्नुपर्नेमा जोड दिनुभएको छ । धरान उपमहानगरपालिका–१३ स्थित देवीमार्गदेखि वडा नं २० चिण्डेडाँडा जोड्ने सर्दु खोलाको आज पुल उद्घाटन गर्दै उहाँले प्रदेशलाई समृद्ध बनाउने योजनाका साथ काम गर्न आवश्यक रहेको बताउनुभयो ।

उहाँले धरानमा भारतीय पर्यटक बढाउन सकिने प्रशस्त सम्भावना भएको उल्लेख गर्दै पूर्वाधार निर्माणमा प्रदेश सरकारले जोड दिने बताउनुभयो । “धरान बहुसांस्कृतिक, बहुभाषिक र बहुधार्मिक हिसाबले महत्वपूर्ण छ, यहाँ भारतीय पर्यटक बढाउन सकिने सम्भावना छ”, उहाँले भन्नुभयो ।

त्यस अवसरमा कोशी प्रदेशसभा सदस्य यशोदा कायस्थ र रमेशकुमार बस्नेत तथा कोशी प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव अशोककुमार शाहलगायतको उपस्थिति थियो ।