फाइल तस्वीरः सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह ।

काठमाडौँ, साउन २८ गते । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिने तयारी गर्नुभएको छ । मुख्यमन्त्री शाहले प्रदेशसभाबाट पर्सी बुधबार विश्वासको मत लिन लाग्नुभएको हो ।

विश्वासको मत लिनका लागि आवश्यक व्यवस्था गर्न मुख्यमन्त्रीले आज सोमबार प्रदेशसभा सचिवालयलाई पत्र पठाउनुभएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले बुधबारलाई विश्वासको मत लिनेगरी मुख्यमन्त्रीबाट ‘सचिवालयमा पत्र आएको जानकारी गराउनुभयो । त्यसो त भोलि मङ्गलबार पनि प्रदेशसभाको बैठक बस्दै छ । नेपाली काङ्ग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता शाह एमालेको समर्थनमा साउन २० गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।