चितवन, साउन २८ गते । मजदुरी गरेर परिवार चलाउँदै आउनुभएका भरतपुर महानगरपालिका–३ बाह्रघघरे निवासी भीमबहादुर पण्डित क्षेत्री स्वास्थ्य बीमा गराएपछि पहिलोपटक भरतपुर अस्पतालमा उपचार गराउन आउनुभयो । उहाँले भन्नुभयो, “स्वास्थ्य बीमाका बारेमा आफूलाई ज्ञान नहुँदा वडा कार्यालयको सहयोगमा बीमा कार्यक्रम समावेश भएको हुँ ।” अहिले उपचारमा लाग्ने खर्चको जम्म १० प्रतिशतमात्र आफूले व्यहोर्नुपर्ने भन्ने सुन्दा दङ्ग पर्नुभयो । लाइन लामो भए पनि आफू उपचार गराएरै जाने उहाँले बताउनुभयो ।

माडी नगरपालिका–७ बाट उपचारका लागि भरततपुर अस्पताल आउनुभएका देवराज बराल पैसा हुने र नहुने दुवैलाई स्वास्थ्य बीमाले फाइदा गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “ग्रामीण क्षेत्रमा थोरै पैसा हुनेहरूका लागि स्वास्थ्य बीमा फलदायी छ ।”

पहिला आफूलाई पनि बीमा गर्दा के हुन्छ भन्ने लागेको भए पनि बीमाबाट उपचार सेवा लिँदा आफ्नो पैसाको बचत हुने गरेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीजस्तालाई बीमा कार्यक्रम प्रभावकारी छ । उपचार गर्दा लाग्ने रकम बच्ने गरेको छ ।” यस्तै भरतपुर महानगरपालिकाका केदार पन्थले विगत तीन वर्षदेखि बीमामार्फत उपचार गराउँदै आएको बताउनुभयो । अस्पतालको टिकट काउन्टर अगाडि भेटिनुभएका उहाँ पेटमा समस्या भएर अस्पताल आउनुभएको हो । उहाँले भन्नुभयो, “स्वास्थ्य बीमा कार्यक्रममले धाने जति उपचार गर्न पाइएको छ ।” थोरै रकममा धेरै सेवा लिन पाइएको जनाउँदै उहाँले खुसी व्यक्त गर्नुभयो । आफूले सहुलियतामा उपचार गर्न पाएको जनाउँदै उहाँले थोरै पैसाले हुने भएकाले सबै यो कार्यक्रममा जोडिन सके राम्रो हुने बताउनुभयो ।

यहाँको भरतपुर अस्पतालमा आउने अधिकांश बिरामी स्वास्थ्य बीमामा जोडिएका हुन्छन् । गत आर्थिक वर्षमा यस अस्पतालमा दुई लाख ६० हजारपटक बीमाका बिरामीको उपचार गरिएको अस्पतालको बीमा कार्यक्रम प्रमुख लीलाधर पौडेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बीमा गरेका कमजोर आर्थिक अवस्था भएकाहरूलाई उपचारका लागि पैसा छैन भन्ने अवस्था छैन ।”

आव २०७९÷८० मा अस्पतालमा बीमामार्फत दुई लाख ५० हजार छ सय १७ पटक उपलब्ध गराइएको पौडेलले जानकारी दिनुभयो । एउटै व्यक्ति धेरैपटक पनि बीमामा आउने गर्दछन् । पौडेलका अनुसार सो वर्ष रु ५२ करोड ५३ लाख ३७ हजार पाँच सय १२ रकम भुक्तानी अस्पतालले पाएको थियो । बीमा कार्यक्रमले पैसा नहुँदा पनि उपचार सेवा लिन सक्ने गराएको उहाँले बताउनुभयो ।

चालु आर्थिक वर्षको साउनदेखि स्वास्थ्य बीमामा जोडिएको चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालका प्रमुख प्रशासक प्रताप देवकोटा बीमाले विपन्नका लागि उपचारमा ठूलो सहयोग गरेको बताउनुहुन्छ । अति विशिष्टिकृत सेवा लिन केही खर्चिलो हुने भए पनि स्वास्थ्य बीमा भएसँगै ग्रामीण क्षेत्रबाट उपचारका लागि ‘रेफर’ लिएर बिरामी आउन थालेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “बीमा नहुँदा उपचारका लागि खर्च अभाव भयो भन्दै धेरै गुनासो आउँथ्यो, बीमा सुरु भएसँगै यस्तो समस्या कम भएको छ ।” स्वास्थ्य बीमाले गर्दा पैसा अभावमा रोग पालेर बस्नुपर्ने बाध्यताको अन्त्य भएको प्रमुख प्रशासक देवकोटाको भनाइ छ । उहाँले भन्नुभयो, “स्वास्थ्य बीमा विशेषगरी विपन्नका लागि बरदान सावित भएको छ ।” बीमा कार्यक्रम लागू भएसँगै बिरामीको सङ्ख्या पनि ह्वात्तै बढेको उहाँको भनाइ छ ।