फाइल तस्वीर
चितवन, साउन २७ गते । चितवन जिल्लाको भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले देशका सबै प्रदेशमा सेवा विस्तार गर्ने भएको छ । अस्पतालले यही भदौदेखि देशका सबै प्रदेशमा सेवा विस्तार गर्न लागेको हो ।

अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलले सङ्घीय सरकारको कार्यक्रमअन्तर्गत केन्द्रीय क्यान्सर अस्पतालले प्रदेशस्तरमा सेवा विस्तार गर्न लागेको बताउनुभयो । हरेक प्रदेशको एउटा सरकारी अस्पतालमा कम्तीमा पाँच शय्याको क्यान्सर उपचारकक्ष सञ्चालन गर्नेगरी सेवा विस्तार हुने उहाँले जानकारी दिनुभयो । क्यान्सर परीक्षण गर्न अस्पतालको सेवा विस्तार गर्नुपर्ने आवश्यकता भएको हो ।

कोशी प्रदेशको धनकुटा, मधेसको जनकपुर गण्डकीको दमौली, लुम्बिनीको दाङ, कर्णालीको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा सेवा विस्तार गरिने छ ।

कार्यकारी निर्देशक डा पौडेलका अनुसार हरेक महिना एक साता अस्पतालमा विशेषज्ञ चिकित्सकसहितको टोली विस्तारित केन्द्रमा खटिनेछन् । सबै प्रदेशका स्वास्थ्य संस्थासँग समन्वय गरेर सेवा सञ्चालन गरिने छ ।