फाइल तस्वीर
काठमाडौँ, साउन २७ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालको नवगठित केन्द्रीय समितिको बैठक आजदेखि सुरु हुँदैछ । ललितपुरको सानागाउँस्थित थसी बैंक्वेटमा आज आइतबारदेखि चार दिनसम्म जारी रहने केन्द्रीय समितिको बैठकमा पार्टी सुदृढीकरण, पार्टीको वैचारिक एवम् सैद्धान्तिक र संविधान संशोधनको विषयमा छलफल हुने जसपा नेपालले जनाएको छ ।

पटक पटक विभाजनको चपेटा झेल्दै आएको जसपा नेपालले बैठकमा एकताको राष्ट्रिय महाधिवेशनले तय गरेको पार्टीको वैचारिक, सैद्धान्तिक, अवधारणाका साथै भूराजनीतिक परिस्थिति र नेपालको परराष्ट्र नीति तथा सम्बन्धमा छलफल हुने जनाएको छ ।

आजदेखि सुरु हुनलागेको केन्द्रीय समितिको बैठकमा पहिचान र जातीय मुक्तिको विषयका साथै समाजवादी अवधारणाका बारेमा पनि चर्चा हुने छ भने पार्टीको स्थानीय तह, प्रदेशसभा र संसद्मा पार्टीको भूमिका, पार्टी विस्तार तथा सुदृढीकरण कार्ययोजना सम्बन्धमा पनि छलफल हुने जनाइएको छ ।

देशव्यापी रूपमा जनपरिचालन अभियान (सदस्यता वितरण, सङ्गठन निर्माण र परिचालन, प्रशिक्षण, सेमिनार, गोष्ठी, जनसभालगायत आवश्यक कार्यक्रमहरू)सम्बन्धमा कार्ययोजना तथा कार्यक्रम निर्माणलगायत विषयमा बैठकमा विचारविमर्श हुने जसपा नेपालले जनाएको छ ।