फाइल तस्वीरः प्रतिनिधिसभाको बैठक ।
काठमाडौँ, साउन २५ गते ।
बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको (टिआरसी) विधेयक प्रतिनिधिसभाको बैठकमा पेस गर्न सभामुख देवराज घिमिरेलाई पत्राचार गरिएको छ । प्रतिनिधिसभा अन्तर्गत रहेको कानुन, न्याय तथा मानवअधिकार समितिले यही साउन २९ गते मङ्गलबार बस्ने प्रतिनिधिसभाको बैठकमा पेश गर्नेगरी आग्रह गर्दै सभामुखलाई पत्राचार गरेको हो ।

टिआरसी विधेयकलाई हिजो बिहीबार बसेको कानुन, न्याय तथा मानवअधिकार समितिले सर्वसम्मत रुपमा पास गरेपछि संसद् बैठकमा पेश गर्न समितिका सभापति सभापति विमला सुवेदीले पत्रचार गर्नुभएको हो ।

प्रतिनिधिसभाको २०८० साल वैशाख १५ गतेको बैठकले टिआरसी विधेयकललाई दफावार छलफल समितिमा पठाइएको थियो । दलहरुबीच सहमति जुट्न नसक्दा दराजमा थन्क्याइएको उक्त विधेयकमा देखिएका असहमतिका बुँदाहरुमा सहमति खोज्न नेपाली काङ्ग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रसम्मिलित तीन सदस्यीय कार्यदल गठन गरिएको थियो । उक्त कार्यदलले तयार पारेको चार बुँदे प्रतिवेदनलाई बुधबार उक्त पार्टीका शीर्ष नेताहरुलाई बुझाइएको थियो । शीर्ष नेताहरु सो प्रतिवेदनमा सहमत भएअनुसार हिजो बिहीबार नै उक्त समितिले पास गरेको थियो ।