फाइल तस्वीर
काठमाडौं, साउन २५ गते । डेंगुको सङ्क्रमण बढ्दै गएकोप्रति उक्त सङ्क्रमणबाट बच्ने उपाय अवलम्बन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरेको छ । पछिल्लो समय लामखुट्टेको टोकाइबाट डेंगुको सङ्क्रमण बढेसँगै स्वास्थ्य मन्त्रालयले यस्तो आग्रह गरेको हो ।

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका प्रमुख कन्सलटेन्ट फिजिसियन डा. विमल शर्मा चालिसेका अनुसार डेंगु सङ्क्रमण एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने गर्छ । एक्कासी उच्च ज्वरो आउने, मांसपेसी दुख्ने, टाउको तथा जोर्नीहरु दुख्ने, थकान महसुस हुने वान्ता हुने जस्ता डेंगु सङ्क्रमणका प्रमुख लक्षण हुन् । लामखुट्टेको टोकाइबाट बच्नुनै डेंगु रोगबाट बच्ने एक मात्र उपाय हो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हालसम्म नेपालका ७३ जिल्लाबाट दुई हजार ३६५ डेंगु सङ्क्रमण पुष्टि हुनुका साथै एक जना डेंगु सङ्क्रमितको मृत्यु भएको छ ।


देशका ७३ जिल्लामा डेंगुको सङ्क्रम बढ्दो, दुई हजार ३६५ जनामा डेंगु सङ्क्रमण पुष्टि, डेंगु सङ्क्रमणबाट एक जनाको मृत्यु
मन्त्रालयले लामखुट्टेको टोकाइबाट हुनसक्ने डेंगुको सङ्क्रमबाट बच्न पूरा बाहुला भएका कपडा लगाउने, झुलभित्र सुत्ने, घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्न भनेको छ । पानी जम्मा गर्ने भाडाहरु छोपेर राख्न, साँझ र बिहान करेसाबारीमा जाँदा, घर बाहिर टहलिदा लामखुट्टेले नटोकोस भनेर विशेष सावधानी अपनाउन समेत मन्त्रालयले सबैमा आग्रह गरेको छ ।