फाइल तस्वीर
लमजुङ, साउन २५ गते । लमजुङमा सञ्चालित एकमात्र गुरुकुल आश्रमका आवासीय विद्यार्थीको भरणपोषणका लागि १५ रोपनी खेतमा स्थानीय अभिभावकले श्रमदानबाट रोपाइँ गरेका छन् । दुराडाँडास्थित पाणिनी संस्कृत माध्यामिक विद्यालयमा सञ्चालित गुरुकुल आश्रम व्यवस्थापन समितिको संयुक्त पहलमा श्रमदानबाट रोपाइँ गरिएको विद्यालय व्यस्थापन समितिका अध्यक्ष अमृत न्यौपानेले बताउनुभयो ।

गुरुकुलमा जुम्ला, कालिकोट र मुगुका विपन्न ब्राह्मण परिवारबाट ल्याइएका ७ देखि १३ वर्षका २७ जना वटुक आश्रममा अध्ययन गरिरहेका छन् । आश्रमका वटुकको भोजनका निम्ति भिक्षा माग्न गाउँघर डुल्नुभन्दा विद्यालयको खेत र त्यस नजिकको बाँझो भूमिमा करिब एक लाख रुपैयाँ बराबरको श्रमदान गरेर रोपाइँ सम्पन्न भएको गुरुकुलका अध्यक्ष पुष्पराज अधिकारीले बताउनुभयो । खेतबाट उत्पादन हुने धानले वटुकहरूलाई छ महिना भोजनको व्यवस्था गर्न सहज हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

सुन्दरबजार नगरपालिकाले रोपाइँ गर्न आश्रमलाई पाँच लाख रुपैयाँ प्रदान गरेको थियो । उक्त रकममध्ये ३० हजार रुपैयाँ मलखाद र बीउ खरिदमा खर्च भएको जानकारी उहाँले दिनुभयो ।