फाइल तस्वीर
ललितपुर, साउन २४ गते । ललितपुर महानगरप्रमुख चिरीबाबु महर्जनले नगर प्रहरीले नागरिकमैत्री भएर सकारात्मक काम गरिरहेको बताउनुभएको छ । ललितपुर महानगरपालिकाद्वारा आज आयोजित ‘प्रकाशित तस्बिरमा नगरप्रहरी’ पुस्तक विमोचन कार्यक्रममा उहाँले महानगरबाट भएका निर्णय विवादरहित तवरले कार्यान्वयन गर्न नगरप्रहरीले सराहनीय काम गरेको धारणा राख्नुभयो ।

“मूर्त तथा अमूर्त सम्पदा संरक्षणमा शून्य सहनशीलताको नीतिअनुसार काम गरिरहेका छौँ, एउटा तस्बिरले धेरै शब्द बोल्छ भने जस्तै तस्बिरले थुप्रै काम भएको देखाएको छ, महानगर प्रहरीले वादविवादरहित तरिकाले कार्यसम्पादन गर्न सफल भएको छ”, प्रमुख महर्जनले भन्नुभयो, “महानगरका लागि सबै बराबर हुन, कसैलाई काखापाखा हुने गरी निर्णय हुँदैन, यहीअनुसार नगर प्रहरीले सकारात्मक भएर नागरिकलाई केन्द्रमा राखी काम गरिरहेको छ ।” उहाँले विवादरहित तवरले स्थानीय तहका निर्णय कार्यान्वयनमा ललितपुर महानगर प्रहरीले गरेको काम अन्य महानगर र नगरपालिकाहरुले पनि पछ्याउन योग्य रहेको बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले ललितपुर महानगरले गरेको निर्णयलाई कार्यान्वयन गर्ने र विपद् व्यवस्थापन गर्ने क्रममा नगर प्रहरीले खेलेको भूमिका महत्वपूर्ण भएको बताउनुभयो । “समस्या समाधान गर्ने क्रममा राम्रो काम गरेको छ, सम्पदा संरक्षण, फुटपाथ व्यवस्था र ट्राफिक व्यवस्थापनका लागि आगामी दिनमा सहयोगी भूमिका निर्वाह हुनेछ, थप रचनात्मक कामले आगामी दिनमा अझै राम्रो काम हुनेछ भन्ने विश्वास छ”, उहाँले भन्नुभयो ।

चलचित्र निर्माता तथा निर्देशक प्रकाश सायमीले तस्बिर हुनुले धेरै लामो समयसम्म इतिहास कायम रहने बताउनुभयो । नगर प्रहरीले आफूले गरेको कामलाई समेटेर तस्बिर प्रकाशन गर्न सक्नु भनेको कामप्रतिको विश्वास भएको धारणा राख्नुभयो । इमानदारीपूर्वक काम गर्दा जनता सधैँ साथमा हुने बताउनुहुँदै ललितपुरको सम्पदा र संस्कृति संरक्षणमा प्रहरीले पु¥याएको योगदान अतुलनीय भएको बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठले नगर प्रहरीले सम्पादन गरेका क्रियाकलापहरु समेटेर पछिल्लो पुस्तालाई पनि उपयोगी हुने पुस्तक तयार भएको बताउनुभयो । “सहरी सौन्दर्यता कायम गर्न, अतिक्रमण भएका सार्वजनिक सम्पत्तिको संरक्षण गर्न, स्थानीय समस्याहरु समाधानमा नगर प्रहरीबाट महत्वपूर्ण काम भएको छ, स्थानीय तहको प्रभावकारिता वृद्धिमा नगर प्रहरीको भूमिका महत्वपूर्ण छ”, उहाँले भन्नुभयो ।

प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले राजस्व सङ्कलनमा घरघरमा नगर प्रहरी अभियानले महत्वपूर्ण सहयोग पुगेको बताउँदै जनताको जनविश्वास आर्जन गर्नेगरी काम गर्न आग्रह गर्नुभयो ।

पुस्तकमा नगर प्रहरीले कार्यसम्पादनको सिलसिलामा काम गर्दा खिचिएका तस्बिरहरु समेटिएका छन् । ललितपुर महानगरले गुनासो सुन्न हटलाइन ११३१ को व्यवस्था गरेको बताउँदै नगर प्रहरी प्रमुख सीताराम हाछेथुले उक्त हटलाइनमा प्रतिघण्टामा ५५ वटासम्म गुनासो दर्ता हुने गरेको जानकारी दिनुभयो ।