फाइल तस्वीर
काठमाडौँ, साउन २४ गते । प्रतिनिधिसभा अन्तर्गत रहेको कानुन, न्याय तथा मानवअधिकार समितिको आज बसेको बैठकले सङ्क्रमणकालीन न्यायसम्बन्धी (टिआरसी) विधेयक सर्वसम्मत पास गरेको छ । आज बुधबार बसेको उक्त समितिको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मत पास गर्ने निर्णय गरेको हो ।

टिआरसी विधेयकमा दलहरुबीच सहमति जुट्न नसक्दा विगत १७ महिनादेखि उक्त विधेयक दराजमा थन्किएको थियो । उक्त विधेयकमा सहमति जुटाउन विगतमा निकै प्रयासहरु नभएका भने होइनन् । उक्त विधेयक २०७९ फागुनमै संसदमा दर्ता भएता पनि दलहरुबीच सहमति बन्न सकेको थिएन । सहमति जुट्न नसकेको विषयमा सहमति जुटाउन काङ्ग्रेस, एमाले र माओवादी केन्द्रका नेता सम्मिलित तीन दलीय कार्यदल गठन गरिएको थियो । सोही कार्यदलले हिजो प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा काङ्ग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेतृत्वलाई सहमतिको प्रतिवेदन बुझाएपछि सोही सहमतिअनुसार आज कानुन समितिले प्रस्ताव पेश गरेको थियो । बैठकमा पेश गरिएको प्रस्तावमाथि छलफल गरिएको र त्यसपछि उक्त समितिका सभापति विमला सुवेदीले सो विधेयक सर्वसम्मत पास भएको घोषणा गर्नुभएको थियो ।

उक्त समितिको बैठकले सर्वसम्मत पास गरेको सो विधेयकलाई साउन २९ गते बस्ने प्रतिनिधिसभाको बैठकमा पेश गर्ने वातावरण बनाउन सभामुख देवराज घिमिरेलाई पत्र लेखेर पठाउने बताउनुभएको छ । टिआरसी विधेयकलाई जारी संसदको अधिवेशनले पास गर्नेछ ।