प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्नुहुँदै ।

काठमाडौँ, साउन २४ गते । नेपाल नागरिक उड्डयन प्राधिकरणले हिजो बुधबार भएको एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटना पाइलटको कमजोरीले गर्दा हुन गएको जनाएको छ ।

सङ्घीय संसद् प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको आज बिहीबार बसेको बैठकमा प्रारम्भिक प्रतिक्रिया दिंदै प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले यस्तो अभिव्यक्ति दिनुभएको हो ।

महानिर्देशक अधिकारीले सिभिल एभिएशनको भिजियोल फ्लाईट रुट (भिएफआर)ले अनुमति नदिएको रुट, खराब मौसम र बादल भएको ठाउँमा हेलिकोप्टर प्रवेश गराउँदा सो दुर्घटना भएको भन्नुहुँदै त्यसको विस्तृत विवरण सरकारले हिजो गठन गरेको छानविन समितिले दिने बताउनुभयो ।

महानिर्देशक अधिकारीले बैठकलाई हिजो भएको दुर्घटनाको सम्बन्धमा जानकारी दिंदै ‘खराब मौसम र बालदभित्र पसेका कारण पाइलटले फर्कने क्रममा हेलिकप्टरलाई लेफ्ट टर्न गर्दाखेरी ठोक्किएको देखिन्छ । यो चाहिँ पाइलोटिङ कमाण्डले हाम्रो सिभिल एभिएशनको भिजियोल फ्लाइट रुट अनुसार नगएर यसरी बादलभित्र छिर्नु वा आँखाले नदेखेको ठाउँमा छिर्नु प्रतिबन्धित हो । कानुनत यो वर्जित विषय पनि हो । दुर्घटनाको मुख्य कारण भनेको भीएफआरको उल्लङ्घन गरेकोले दुर्घटना भएको हाम्रो प्रारम्भीक अनुसन्धानले देखाएको कुरा हो ।

‘‘यसको रुटकज चाहिं सरसर्ती हेर्दाखेरी यस्तो देखिएता पनि छानविन आयोगले नै बताउला । यसको अनुसन्धानको विस्तृत विवरण सरकारले गठन गरेको आयोगले नै बताउला’’— महानिर्देशक अधिकारीले बैठकमा भन्नुभयो । महानिर्देशक अधिकारीले भन्नुभयो, ‘‘टावरबाट सम्पर्क विच्छेद हुने बित्तिकै हामीले प्रोसिड्युअर अनुसार नै खोजी ग¥यौं । जबसम्म हामी क्र्यास साइट आएडेन्टीफाई तबसम्म मौसमको हिजोको अवस्था पनि त्यस्तै थियो । तर हामीले त्यो शङ्कास्पद ठाउँ पत्ता लगाउने बित्तिकै हेलिकोप्टर खोजीका लागि हेलिकोप्टर परिचालन गरेको अवस्था थियो । नेपाल सरकारले यो दुर्घटना छानविन आयोग गठन गरिसकेको अवस्थामा यसको रुटकज के हो भन्ने बारेमा पनि म धेरै जान चाहन्नँ ।’’

हिजो साउन २३ गते बुधबार एयर डाइनेष्टीको हेलिकप्टर काठमाडौँबाट रसुवाको लागि चार जना चिनियाँ पर्यटकहरुलाई लिएर उडेको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको केही मिनेटमै दुर्घटनामा परेको उक्त हेलिकप्टरमा सवार चारै जना चिनियाँ नागरिक र पाइलटगरी सबै पाँच जनाको मृत्यु भएको थियो ।