फाइल तस्वीर मन्त्रिपरिषद्को बैठक
काठमाडौँ, साउन २३ गते । प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक राख्नुभएको छ । एयर डाइनेष्टीक हेलिकप्टर दुर्घटना भएको घटनालाई लिएर आकस्मिक रुपमा मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो ।

आज बुधबार दिउँसो रसुवाको लागि चार जना चिनिया पर्यटकहरु लिएको त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ः४५ बजे उडेको एयर डाइनेष्टीक हेलिकप्टर दुर्घटनामा परेको थियो । उक्त हेलिकप्टर दुर्घटनामा परी चालकसहित ५ जनाको मृत्यु भएको थियो । नुवाकोटको शिवपुरी गाउँपालिका–७ स्थित सूर्यचौरमा दुर्घटनामा परेको हेलिकप्टरमा सवार सबैको निधन भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले दुर्घटनाबारे दुःख व्यक्त गर्नुभएको छ । सिंहदरबारस्थित उपत्यका मेयर्स फोरमका पदाधिकारीहरूसँग भेटघाटमा रहेका प्रधानमन्त्री ओलीले दुर्घटना हुनु दुःखद् भएको बताउनुभएको थियो ।