फाइल तस्वीर
चितवन, साउन २३ गते । चितवन राष्ट्रिय निकुञ्जले वर्षादको समयमा हुन सक्ने चोरीसिकार नियन्त्रण गर्न फरक रणनीति अपनाएर सुरक्षा व्यवस्था गरेको छ । वर्षादको समयमा खोलानाला बढ्ने, झाडी हुने हुँदा सबै ठाउँमा सवारीसाधन पुग्न कठिन हुने भएकाले फरक ढङ्गले ती ठाउँहरुको निगरानी हुने गरी रणनीति बनाइएको हो ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्ज कार्यालय र सुरक्षार्थ खटिएको नेपाली सेना संयुक्त रुपमा बसेर संवेदनशील ठाउँहरुको पहिचान गरी ती ठाउँहरुमा कडा सुरक्षा व्यवस्था मिलाइएको छ । हरेक हप्ता समीक्षा गर्दै सुरक्षा रणनीतिलाई फरक ढङ्गले कार्यान्वयन गरिँदै आएको उहाँले बताउनुभयो ।

तिवारीका अनुसार जिप तथा गाडी सबै ठाउँमा पुग्न नसक्ने भएकाले यतिबेला हात्ती गस्तीलाई प्राथमिकता दिइएको छ । निकुञ्जमा ५४ वटा हात्ती छन् । तीमध्ये बच्चा, गर्भवती र अशक्त बाहेकलाई गस्तीमा प्रयोग गरिएको छ । यसैगरी, नदी तटीय क्षेत्रमा डुङ्गाको प्रयोग गरिँदै आएको छभने पैदल, साइकल गस्ती पनि नियमित हुँदै आएको छ । सम्भव हुने ठाउँहरुमा जिप तथा गाडीमा समेत गस्ती भइरहेको उहाँले बताउनुभयो ।

निकुञ्जभित्र ६७ स्थानमा पोष्ट छन् । ती पोष्टमा नेपाली सेना र निकुञ्ज कर्मचारी बसेर सुरक्षाको काम गरिरहेका छन् । निकुञ्जले लामो, मध्यम र छोटो पेट्रोलिङको काम गरिरहेको छ ।

दुई साताभन्दा बढी विभिन्न क्षेत्रमा रात बिताउने गरी गस्तीको काम भइरहेको छ । मध्यममा एक साता हाराहारी र छोटोमा एकदुई दिनको जङ्गलका ठाउँठाउँमा क्याम्प बनाएर बसेर सुरक्षा दिने गरिएको छ । निकुञ्जले कुनै ठाउँमा तत्काल परिचालन हुन परेमा तयारी हालतमा हात्तीसहितको टोली राख्ने गर्दछ । यसले विपत्मा समेत काम गर्ने गरेको छ । सिमलताल बस दुर्घटनामा निकुञ्ज क्षेत्रमा हात्तीसहितको यो टोलीले खोजीसमेत गरेको थियो ।

सूचना अधिकारी तिवारीका अनुसार आवश्यकतानुसार ड्रोन उडाउने समेत गरिँदै आएको छ । यससँगै एसपिवाई क्यामरा राखेर ठाउँठाउँमा निगरानी गरिँदै आएको छ । यो क्यामरा गोप्य रुपमा संवेदनशील क्षेत्रमा राखिन्छ । यसलाई निकालेर त्यहाँको अवस्था निगरानी गर्ने गरिएको छ । आवश्यकता परेको ठाउँमा स्थानीय सामुदायसँग सहकार्य गरेर गस्तीका काम गरिएका छन् । समुदायमा आधारित चोरीसिकार नियन्त्रण इकाइ चोरीसिकारी नियन्त्रण र सुराकीमा खटिइरहेका छन् । चितवन राष्ट्रिय निकुञ्ज दुर्लभ एकसिङ्गे गैँडा, पाटेबाघलगायत वन्यजन्तुको मुख्य बासस्थान हो ।