फाइल तस्वीर
सिरहा, साउन २३ गते । हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषा जोड्ने कमला पुल पुनःनिर्माणमा दबाब दिन सिरहाका इन्जिनियरहरुले आन्दोलन घोषणा गरेका छन् । सिरहाका इन्जिनियरहरुको अगुवाइमा गठित सङ्घर्ष समितिले आन्दोलनको घोषणा गरेका हुन् ।

सङ्घर्ष समितिका संयोजक प्रवीणकुमार यादवका अनुसार मङ्गलबार सरोकारवाला पक्ष तथा बुद्धिजीवीहरुबीच छलफल भएको थियो । उक्त छलफलबाट दबाब सिर्जनास्वरुप आन्दोलनको कार्यक्रम तय गरेको हो । जसअन्तर्गत भोलि बिहीबार सिरहाको महावीर चोकदेखि थाना चोकसम्म दबाब जुलुस गर्ने कार्यक्रम छ । आगामी आइतबार सिरहाको बसबिट्टा चोकदेखि मुख्यमन्त्री कार्यालय जनकपुरसम्म मोटरसाइकल जुलुसयात्रा गर्ने सङ्घर्ष समितिले जनाएको छ । पुल पुनःनिर्माण अघि नबढाएसम्म आन्दोलनका थप कार्यक्रम गरिने समितिका संयोजक यादवले बताउनुभयो ।

मधेशको दीर्घकालीन महत्व बोकेको कमला पुल निर्माण नहुँदा सिरहा र सप्तरीका सर्वसाधारण प्रदेशको राजधानी जनकपुरधाम आउन जान सास्ती भोग्दै आएका छन् । बाढी आएको समयमा तीन गुणा बढी दुरी पार गरेर मात्र जनकपुर आवत्जावत् गर्नुपर्ने बाध्यता छ ।

प्रदेश तथा सङ्घीय सरकारका विभिन्न मन्त्रीलाई यस विषयमा ध्यानाकर्षण गराउँदा समयमा पुल बन्न नसकेको स्थानीयको गुनासो छ । करिब १३ वर्षअघि निर्माण सम्पन्न भई उद्घाटनको तयारी गरिएको बेला कमला नदीमा आएको बाढीले पुल भासिएको थियो । उक्त पुल अझै पुनः निर्माण हुन नसकेको हो ।

केही दिनअघि मात्रै मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले पुल निर्माणका लागि आवश्यक सहयोग गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर आग्रह गर्नुभएको थियो । मुख्यमन्त्री सिंहले मधेशको ‘लाइफलाइन’ मानिएको कमला पुललगायत प्रदेशको विकासमा दीर्घकालीन र सकारात्मक योगदान पुग्ने योजना प्रधानमन्त्री ओलीसमक्ष प्रस्तुत गर्नुभएको थियो ।