फाइल तस्वीर
काठमाडौँ, साउन २३ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका प्रदेश अध्यक्षहरूलाई केन्द्रीय सदस्य सरहको मान्यता दिएको छ ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले मङ्गलबार जारी गर्नुभएको अन्तरपार्टी निर्देशन (अपानी)–१० मा प्रदेश अध्यक्षहरुलाई पदेन केन्द्रीय सदस्य सरहको मान्यता दिने उल्लेख गरिएको छ । यसअघि प्रदेश अध्यक्षलाई पार्टीको पोलिटब्यूरो सदस्य सरहको मान्यता दिइएको थियो ।

एमाले केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीले पार्टीको संरचनाअनुसार एक तहमाथि लैजान नमिल्ने भएकाले यसअघिको भएको निर्णय पुनःविचार गर्दै प्रदेश अध्यक्षलाई पदेन केन्द्रीय सदस्यसरह जिम्मेवारी दिइएको स्पष्ट गर्नुभयो ।

एमालेको प्रदेश अध्यक्षसम्बन्धी पछिल्लो निर्णयसँगै कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडा, मधेस प्रदेशका चन्द्रेश्वर मण्डल, बागमती प्रदेशका कैलाश ढुङ्गेल, गण्डकी प्रदेशका नवराज शर्मा, लुम्बिनी प्रदेशका राधाकृष्ण कँडेल, कर्णाली प्रदेशका गुलाबजङ्ग शाह र सुदूरपश्चिम प्रदेशका कृष्णप्रसाद जैसी पदेन केन्द्रीय सदस्य हुनुभएको छ ।

यसैगरी, एमालेले पुरनसिंह दयाल (वैतडी), मैना भण्डारी (गुल्मी) र तारा राई (मोरङ)लाई केन्द्रीय कमिटीबाट हटाएको छ । दयाल भूगोलको काममा नखटेको, भण्डारी बिरामी परेको र राई विदेश भएकाले जिम्मेवारीबाट हटाएको एमाले अध्यक्ष ओलीले जारी गर्नुभएको अपानीमा जनाइएको छ ।

अध्यक्ष ओलीले गत असार १८ र २८ तथा साउन १७ गते बसेको सचिवालय बैठकको निर्णय, केन्द्रीय कमिटी र निकायमा पदाधिकारीसहित सदस्यको मनोनयन, केन्द्रीय कमिटीका पदाधिकारी तथा सदस्यहरूको नयाँ कार्यविभाजनसम्बन्धी निर्णय जानकारी तथा कार्यान्वयन गर्न अपानी–१० जारी गर्नुभएको हो ।