काठमाडौँ, साउन २३ गते । सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी)मा सहमति जुटाउन गठित कार्यदलले सहमति जुटाएर तयार पारेको प्रतिवेदन आज शीर्ष नेताहरुलाई बुझाउने भएको छ । कार्यदल सदस्यहरूले सहमतिको लिखित प्रतिवेदन एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओली, नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई बुझाउने तय भएको हो ।

कार्यदलले आज बुधबार बिहान ११ बजे तीनै दलका शीर्ष नेताहरुलाई संयुक्त रुपमा प्रतिवदेन बुझाउने छ । शीर्ष नेताले प्रतिवेदन अध्ययन गरेर आवश्यक सुझाव दिएपछि समितिमार्फत् अघि बढाएर जारी संसद् अधिवेशनबाटै विधेयक पारित गर्ने तयारी रहेको बताइएको छ ।

विधेयकमा सहमति जुटाउन नेपाल कम्युनिस्ट पार्टी एमालेबाट महेश बर्तौला, नेपाली काङ्ग्रेसबाट गृहमन्त्री समेत रहनुभएका नेता रमेश लेखक र माओवादी केन्द्रका नेता जनार्दन शर्मा रहेको कार्यदल गठन भएको थियो ।