फाइल तस्वीर
काठमाडौँ, साउन २३ गते । प्रतिनिधिसभा अन्तर्गत रहको विभिन्न समितिहरुमध्ये आज चारवटा संसदीय समितिहरुको बैठक बस्नेभएको छ । मिनि संसद्को रुपमा रहेको संसदीय समितिहरुको बैठक आज बुधबार सिंहदरबारस्थित समितिहरुकै कार्यकक्षमा बस्नेभएको हो ।

सङ्घीय संसद् सचिवालयका अनुसार बुधबार आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, पूर्वाधार विकास समिति र कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दै छ ।

दिउँसो साढे १२ बजे सिंहदरबारमा बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल गर्ने कार्यसूची रहेको छ ।

यसैगरी कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको सम्बन्धमा संशोधन प्रस्तावकर्ता सदस्यहरूसँग छलफल गर्ने र केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको दफावार छलफल हुनेछ संसद् सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान साढे ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा नेपालको अधिकांश ग्रामीण क्षेत्रमा बाँदर, बँदेल, दुम्सी, निलगाईलगायत जङ्गली जनावरबाट कृषि बालीमा भइरहेको क्षति, मानव बस्तीमा भइरहेको अतिक्रमण र बाघ, भालु, हात्तीलगायतका जनावरको आक्रमणबाट मानिसको ज्यानै लिने गरी मानव जनधनमा भइरहेको क्षतिका सम्बन्धमा सरोकारवालासँग छलफल गर्ने कार्यसूची रहेको छ ।

यसैगरी दिउँसो १ बजेका लागि तय गरिएको पूर्वाधार विकास समितिको सिंहदरबारमा बस्ने बैठकमा जलस्रोत विधेयक, २०८१ मा संशोधनकर्ता सदस्यहरूसँग छलफल हुने सङ्घीय संसद् सचिवालयले जनाएको छ ।