फाइल तस्वीर
काठमाडौँ, साउन २२ गते । संविधानसभा सदस्य एवं वरिष्ठ उद्योगपति श्रवणकुमार अग्रवालको ७७ वर्षको उमेरमा निधन भएको छ । मारवाडी सेवा समितिका पूर्वअध्यक्ष अग्रवालको सोमबार राति सानेपास्थित आफ्नै निवासमा निधन भएको हो ।

उहाँ नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालका पिता हुनुहुन्छ । नेपाल उद्योग परिसङ्घले आज शोक विज्ञप्ति निकालेर उहाँप्रति श्रद्धाञ्जलि अर्पण गरेको छ ।

स्वर्गीय अग्रवाल ५८ वर्षदेखि विभिन्न उद्योग व्यवसायमा क्रियाशील हुनुहुन्थ्यो । उहाँका श्रीमती, दुई छोरा र एक छोरी हुनुहुन्छ । पशुपति आर्यघाटमा आजै उहाँको अन्तिम संस्कार गरिने परिसङ्घले जनाएको छ ।