फाइल तस्वीरः नारायणी नदीमा गरिएको तटबन्धन ।
भरतपुर, साउन २२ गते । नारायणी नदीमा तटबन्धनका लागि लगाइएको ठेक्काको काम बजेटका कारण प्रभावित हुने भएको छ । ठेकेदार कम्पनीहरूले गत वर्षको ४० करोड रुपैयाँभन्दा बढी भुक्तानी नपाउँदा काममा समस्या हुन लागेको हो ।

गत वर्षको कामको भुक्तानी यस वर्ष विनियोजन भएको बजेटबाट आंशिक गरिएको छ । नारायणी नदी व्यवस्थापन आयोजनाका निर्देशक मनोहरकुमार साहका अनुसार गत वर्षको भुक्तानी गर्नुपर्ने रुपैयाँ एक अर्ब १३ करोड ६४ लाख रुपैयाँमध्ये ५७ करोड रुपैयाँ भुक्तानी गरिएको छ । पेश्कीसहित हिसाब मिलान गर्दा गत वर्षको ४० करोड रुपैयाँको भन्दा बढी काम गरेको भुक्तानी दिन बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।

आयोजना सबै सम्पन्न गर्न तीन अर्ब ९५ करोड रुपैयाँ खर्च हुन्छ । हालसम्म दुई अर्ब रुपैयाँ भुक्तानी गरिएको छ । निर्देशक साहले भन्नुभयो, “यस आर्थिक वर्षको असार मसान्तसम्ममा सबै काम सम्पन्न गर्नुपर्ने छ, तर बजेट छैन ।” चालु आवका लागि विनियोजन गरिएको रकम गत वर्षको भुक्तानीमा गइसकेकाले यस वर्ष काम गर्नका लागि बजेट नभएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “चालु आवमा ठेक्काअनुसार काम सम्पन्न गर्न कम्तीमा एक अर्ब ९५ करोड रुपैयाँ आवश्यक छ ।” तटबन्ध गरिएका क्षेत्रमा नदीले कटान नसकेको जनाउँदै उहाँले यही अवस्थामा निर्माण कम्पनीलाई काम लगाउन आफूले नसकेको उहाँले बताउनुभयो । आयोजनाले चितवनमा नारायणी नदी तटबन्धका लागि लगाएका पाँच ठेक्कामध्ये दुईवटा सम्पन्न भएका छन् । तीमध्ये एउटा पूरै भुक्तानी गरिएको छभने अर्काे एउटाको भुक्तानी दिन बाँकी छ । नवलपरासीतर्फ छवटा ठेक्कामध्ये एउटा सम्पन्न भएको छ । यसै आयोजनाले काम गरेको कयरखोलाको दुईवटा ठेक्का सम्पन्न भए पनि भुक्तानी बाँकी छ ।

आयोजनाले नदीको चितवन र नवलपरासीतर्फ चार अर्ब ७२ करोड रुपैयाँ अर्थ मन्त्रालयबाट वि सं २०७८ मङ्सिरमा स्रोत सुनिश्चितता गरेर त्यसलगत्तै विभिन्न खण्डमा ठेक्का लगाएको थियो । दुई जिल्लामा गरी ११ वटा प्याकेजमा ठेक्का लगाइएको थियो । चितवनतर्फ पाँच र नवलपरासीतर्फ छ प्याकेजमा ठेक्का लगाइएको थियो ।

निर्देशक साहले पटकपटक अर्थ मन्त्रालयमा बजेटका लागि आग्रह गरिएको बताउनुभयो । निर्माण कम्पनीहरूले पेस गरेका बिलअनुसारको भुक्तानी नपाउँदा समस्या भएको भन्दै दबाब दिइरहेको उहाँ बताउनुभयो । उहाँले भन्नुभयो, “समयमा भुक्तानी गर्न नसक्दा काम लगाउन सकिएको छैन ।” नारायणी नदीको चितवनतर्फ २० किलोमिटर र नवलपरासीतर्फ १० दशमलव पाँच किलोमिटर तटबन्ध गर्न लागिएको हो । तटबन्धको काम गरिएसँगै काम भएका क्षेत्रमा बाढीबाट जोगिएका छन् । रासस