फाइल तस्वीर
तनहुँ, साउन २१ गते । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रलाई विशिष्टिकृत अस्पतालको रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रको आज निरीक्षण गर्दै उहाँले अस्पताललाई शिक्षण अस्पतालको रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

सङ्घीय सरकार मातहत रहेको उक्त अस्पतालको आज गृहजिल्ला आएको सन्दर्भ पारी निरीक्षण गर्दै मन्त्री पौडेलले भन्नुभयो, “अस्पतालको गुरुयोजना बनाएर सुविधासम्पन्न बनाउनेतर्फ लागेका छौँ । मैले अस्पतालसँग गुरुयोजना मागेको छु । एक महिनाको समयसीमा तोकिएको छ । गुरुयोजना प्राप्त भएपछि आवश्यक प्रक्रिया अगाडि बढाउनेछौँ ।”

मन्त्री पौडेलले निरीक्षणका क्रममा अस्पतालले प्रदान गरिरहेको सेवा, भोग्नुपरेको समस्याका बारेमा जानकारी लिनुभएको थियो । अस्पतालको स्तरोन्नति र थप विकासका लागि सरकारले सहयोग गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

मन्त्री पौडेललाई अस्पतालका बारेमा कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले जानकारी गराउनुभएको थियो । सरकारले चालु आर्थिक वर्षको बजेटमा केन्द्रका लागि पूर्वाधार र उपकरण उपलब्ध गराउने शीर्षकमा बजेट विनियोजन गरेको छ विसं २०६७ मा स्व गिरीजाप्रसाद कोइरालाको नाममा राष्ट्रियस्तरको श्वासप्रश्वास उपचार केन्द्र स्थापना गर्ने उद्देश्यले अस्पताल स्थापना गरिएको थियो ।

सोही ठाउँमा रहेको सेतीगङ्गा सामुदायिक अस्पतालको स्वामित्व विसं २०७५ मा जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रलाई हस्तान्तरण गरिएको थियो । हाल उपचार केन्द्रको नाममा सात सय ४० रोपनी जग्गा प्राप्ति भइसकेको छ ।

पचास शय्याको अस्पतालमा सवारी दुर्घटनाका घाइतेका साथै झाडापखला, टाइफाइड, ज्वरो, ग्याष्ट्रिक, पेटसम्बन्धी र हाडजोर्नीका बिरामी नियमित आउने गरेका उपचार केन्द्रका कार्यकारी निर्देशक डा श्रेष्ठले जानकारी दिनुभयो । केन्द्रले पछिल्लो समययता विभिन्न स्वास्थ्य सुविधा थप गर्दै गएको छ । नागरिकलाई सहजरुपमा सबै प्रकारका स्वास्थ्य सेवा दिने उद्देश्यसहित सुविधा विस्तार गर्दै लगिएको उहाँको भनाइ छ ।

अस्पतालमा तनहुँको शुक्लागण्डकी नगरपालिका, भीमाद नगरपालिका, म्याग्दे गाउँपालिका, रिसिङ गाउँपालिकासहित स्याङजा, पाल्पा र नवलपरासी जिल्लाका नागरिक पनि सेवा लिन आउँछन् ।

अस्पतालले विशेषज्ञ चिकित्सकबाट हाडजोर्नी तथा नशारोग, जनरल सर्जरी, इन्टरनल मेडिसिन, कल्चर सेवा दिइरहेको छ । अस्पतालमा ओपिडी सेवा, चौबिसैँ घण्टा इमर्जेन्सी सेवा, ल्याब, भिडियो एक्सरे सेवा, सामान्य शल्यक्रियालगायत सेवा दिइरहेको छ । यहाँ श्वासप्रश्वासको उपचार पनि सुरु भइसकेको छ । अस्पतालमा दैनिक दुई सय ५० भन्दा बिरामी आउने गरेकामा ४०–५० जना श्वासप्रश्वासका रहेका अस्पतालका कार्यकारी निर्देशक डा श्रेष्ठले जानकारी दिनुभयो ।