काठमाडौँ, साउन २१ गते । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपालका लागि अस्ट्रेलियाका राजदूत फेलिसिटी वोल्कले बिदाइ भेट गर्नुभएको छ । सिंहदरबारमा आज भएको उक्त भेटमा अध्यक्ष दाहालले नेपाल र अस्ट्रेलियाको द्विपक्षीय सम्बन्ध थप मजबुत र प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेलेकामा राजदूत वोल्कको प्रशंसा गर्नुभयो ।

शान्ति प्रक्रियाका बाँकी काम चाँडै टुङ्गोमा पुग्ने र त्यसका लागि सबैको सहयोग आवश्यक रहेको चर्चा गर्दै अध्यक्ष दाहालले नेपालको शान्ति प्रक्रिया विश्वकै लागि उदाहरणीय बन्ने विश्वास व्यक्त गर्नुभयो ।

उक्त भेटमा राजदूत वोल्कले सङ्क्रमणकालीन न्याय टुङ्ग्याउने विषयमा राजनीतिक दलहरुबीच सहमति भएको थाहा पाउँदा आफूलाई निकै खुसी लागेको बताउनुभयो । उहाँले दलहरुबीचको सहमतिले अब चाँडै शान्ति प्रक्रियाको सबै काम टुङ्गोमा पुग्ने विश्वास व्यक्त गर्नुभएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । 

नेपालका लागि अष्ट्रेलियाको राजदूतका रुपमा साढे तीन वर्षको  कार्यकाल पूरा गरी स्वदेश फर्किन लाग्नुभएका वोल्कले अब राजदूतका रुपमा नरहे पनि यहाँ रहँदाका अनुभव र न्यानो माया स्मरण गर्दै आफू सधैँ नेपालको सद्भावना दूतका रुपमा रहिरहने विश्वास दिलाउनुभयो ।