काठमाडौँ, साउन २१ गते । मित वा मितिनी साइनोको छुट्टै महत्व छ । उक्त साइनो गाँस्ने लगाउने चलन नेपालको पुरानै हो । अहिले पनि यो चलन हटेको छैन । त्यसले एकापसमा सम्बन्ध विस्तार मात्रै गर्दैन एकअर्कामा साथ, सहयोग र सहकार्यलाई उच्च स्थान दिन्छ । यो विश्वमै फरक खालको सम्बन्ध मान्न सकिन्छ ।

नेपालीले आफ्नो परिवारपछि अर्को नजिकको सहयात्रीका रुपमा मित÷मितिनी सम्बन्ध कायम गर्छन् । त्यही सम्बन्धलाई उजिल्याइदिनुभएको छ फोटोग्राफर रविक उपाध्यायले । नेपाली महिलाको ‘मितिनी’ चलनलाई दृश्य कथामा कैद गरेर उहाँले मित÷मितिनीको महत्वलाई बढाइदिनुभएको छ । 

उहाँको महिलाको मितिनी फोटो कथा अहिले नेपाल कला परिषद् बबरमहलमा प्रदर्शन भइरहेको छ । दृश्य कथामा बाल्यकालमा जोडिएको मितिनी सम्बन्ध जीवनको उत्तराद्र्धसम्म पनि उत्तिकै सौहाद्र्रमय रहने देखाएको छ । साना–ठूला सुखदुःखका साक्षी र सहयोगी भूमिकामा मितिनीहरुले आफ्नो परिवारलाई सघाउने गरेको दृश्यले मन छुन्छ । 

विनुकुमारी गुरुङ र लिलामाया अधिकारी फरक फरक समुदायका हुनुहुन्छ, तर मितिनी सम्बन्धले उहाँहरुमाथि सबै छेकबार भत्काइदिएको छ । जङ्गलमा गाईवस्तु घाँसदाउरा गर्दा भएको भेटलाई मितिनी सम्बन्ध विस्तार गरेका उहाँहरुले बूढेसकाल आउनै लाग्दा पनि त्यो सम्बन्ध कायम राख्नुभएको छ ।

यस्तै, अर्काे तस्बिरमा ५७ वर्षकी सन्तमाया अधिकारीले ५९ वर्षकी पानसरी गुरुङलाई एकमुठा सुकेको लसुन कोसेली पठाउनुभएको छ । सन्तमाया आफ्नो बुढ्यौली सासूसँग बस्दा पानसरीलाई विरलै भेट्न पानुहुन्छ तर यस्ता उपहारले उहाँहरुको सम्बन्ध र सम्झनालाई ताजै बनाइदिइरहेको छ । पानसरा पनि घरकै कामले सन्तमायालाई भेट्न पाउनुहुन्न् । गाउँलेमार्फत यस्तै उपहार आदानप्रदान हुँदा भने उहाँहरुमा सम्झना ताजा बनेर आइदिने गरेको छ । 

अर्का फोटोप्राफर इसान तिवारीको फोटो कथाले प्रथम स्थान हासिल गर्न सफल पनि भएको छ । तिवारीले ‘सहयात्रा’ शीर्षकमा मधेसका बालबालिकामा शिक्षाको पहुँचको कथा कैद गर्नुभएको छ । तस्बिर लिन तिवारी मधेस प्रदेशको बारा र रौतहट पुग्नुभएको थियो । 

उहाँले मधेसका बालबालिकाको विद्यालय, घर तथा समुदायमा भएका रोचक गतिविधिहरुलाई फोटोमा कैद गर्नुभएको छ । त्यसमा उनीहरुको रहनसहन, खेलकुद, विद्यालय अध्ययन, सामाजिक गतिविधिलाई समावेश गरिएको थियो । बालापन झल्काउने उहाँका दृश्य कथामा मधेसको कमजोर आर्थिक, सामाजिक अवस्थाका बालबालिकाले शिक्षा पाउँदाको खुसी देख्न सकिन्छ, जहाँ बालबालिकाको मुहारमा चमक झल्किरहेको पाइन्छ । 

फोटो प्रदर्शनीमा सुशील विश्वकर्माले ‘तृष्णा’ शीर्षकमा फोटो कथा देखाउनुभएको छ । त्यसमा उहाँले जाजरकोटको कुदु गाउँको पानीको कथालाई फोटोमा उतार्नुभएको छ । तल भेरी नदी कलकल बगिरहेको छभने पनि गाउँमा खानेपानीको चर्को अभाव छ । त्यो अभावलाई पूर्ति गर्दै पानीको बचत र सरसफाइलाई ध्यान दिन त्यहाँ नेपाल, युरोपेली सङ्घ र फिनल्यान्डको सहकार्यमा सञ्चालित परियोजनाले काम पनि गरिरहेको छ । त्यहाँको पानीको समस्यालाई समाधान गर्न फोटो कथाले आह्वान गरिरहेको छ । 

काठमाडौँ विश्वविद्यालयमा अध्ययनरत २३ वर्षीया दृश्य कथाकार आकृति श्रेष्ठले मधेसमा प्लास्टिक बोतलको पुनः प्रयोगको विषयालाई ‘कुर्था एक्सप्रेस’ शीर्षकमा तस्बिर कथा प्रस्तुत गर्नुभएको छ । फोहरबाट सङ्कलन गरिएका ती बोतलहरु त्यहाँका बासिन्दाको आम्दानीको स्रोत बनेका छन् । त्यसले वातावरणीय प्रदूषण कम गर्दै सन्तुलन राख्न सघाएको छ । साथै फोहरबाट मोहर कमाएर आर्थिक पाटोलाई कसरी मधेसका समुदायले अँगालेका छन् भन्ने कथा उहाँको तस्बिरमा देखिन्छ । 


“मैले प्लाष्टिक फोहरलाई पुनः प्रयोग गर्ने प्रक्रिया र यस प्रक्रियामा सहभागी महिला पुरुषको जीवनलाई चित्रण गरेको छु”, आकृतिले भन्नुभयो, “चक्रीय अर्थ व्यवस्था भनेको फोहर घटाउने र वातावरण संरक्षण गर्ने मात्र नभई यसले सिर्जना गर्ने रोजगारमा निर्भर व्यक्तिहरुको जीवन पनि हो ।”

नेपाल र युरोपेली सङ्घबीचको सम्बन्धका ५० वर्ष पुगेको अवसरमा दृश्य कलाकारले तयार पारेका दृश्य कथाहरु नेपाल कला परिषद्मा प्रदर्शनीमा राखिएका हुन् । नेपालस्थित युरोपेली सङ्घको दूतावासले उक्त फोटो कथा प्रदर्शनी आयोजना गरेको हो ।

‘मित्रता’ शीर्षकमा गरिएको तस्बिर कथा प्रदर्शनीबारे सङ्घका राजदूत भेरोनिक लरेञ्जोले नेपाल–युरोपेली सङ्घबीचको सम्बन्ध र सम्झनालाई देखाइएको बताउनुभयो । दुई पक्षबीचको मित्रतासँगै जनसम्बन्धको भाव फोटो प्रदर्शनीले व्यक्त गरेको राजदुत लरेञ्जोले उल्लेख गर्नुभएको छ । उहाँले नेपालसँगको विकास साझेदारीसँगै मित्रता थप बलियो बनाउने आफ्नो चाहना रहेको र त्यसैको प्रतिफल प्रदर्शनी भएको पनि बताउनुभयो ।

यसपटकको उक्त प्रदर्शनीमा चार फरक कथाहरुमा चारजना फरक युवा फोटोग्राफरलाई मित्रताको दृष्टिकोणबाट अभिव्यक्त गर्न भनिएको थियो । ती कथाहरु फोटोग्राफी प्रतियोगितामार्फत छनोट गरिएको हो । फोटो प्रतियोगिताका लागि गरिएको आब्हानमार्फत नेपालका युवापुस्ताको प्रतिभा उजागर गराउँदै देशका विभिन्न क्षेत्रका विषयहरु ल्याउन उनीहरुलाई प्रोत्साहन गरिएको थियो । उनीहरुले तयार पारेका दृश्य कथामा मित्रता, प्रजातन्त्र, मानवअधिकार र दिगो विकासका साझा मूल्यहरुलाई  प्रस्तुत गरिएका छन् ।

सङ्घका अनुसार यसले नेपालको शिक्षा, स्वास्थ्य, दिगो विकास र सांस्कृतिक सम्बन्धमा युरोपेली सङ्घ योगदानमा जोड दिँदै नेपालको जनस्तरको सम्बन्धलाई उजागर गरी उलब्धिमाथि उत्साह मनाउने र भविष्यको सहकार्यमा प्रेरित गर्छ । यसमा फोटोग्राफरले देशभर यात्रा गरी समाजका कथा अभिव्यक्त गरेका छन् ।

फोटो प्रतियोगिताका लागि विकास रौनियार, रम्यता लिम्बूसहितका वरिष्ठ फोटो पत्रकार निर्णायक हुनुहुन्थ्यो । उहाँहरुले फोटोको भाव र कथाका आधारमा निर्णय दिनुभएको थियो । शुक्रबारदेखि सुरु भएको फोटो कथा प्रदर्शनी यही साउन ३२ गतेसम्म कलापरिषद्मा हुने छ । 

सन् १८५१ मा नेपालका तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाले बेलायत र फ्रान्सको भ्रमण गर्नुभएसँगै नेपालको विश्व सम्बन्ध युरोपबाटै सुरु भएको बताइन्छ । फ्रान्सका अध्यता साल्भियन लेभीले सन् १९६२ र इटलीका गसेप टक्कसीले सन् १९५२ मा नेपाल आएर यहाँको सामाजिक–सांस्कृतिक इतिहासको अध्ययन गर्दै नेपाललाई विश्वमाझ पुर्याउन काम गर्नुभएको स्मरण गरिन्छ । सन् १९६२ मा नेपाल आर्ट काउन्सिल स्थापना भएसँगै विश्वको आधुनिक कला प्रवद्र्धन थालिएको मानिन्छ ।