फाइल तस्वीर
काठमाडौँ, साउन २१ गते । सङ्घीय संसद् अन्तर्गत रहेका प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछन् । काठमाडौँको नयाँबानेश्वरस्थित सङ्घीय संसद भवनमा दुवै सभाको बैठक अलग अलग समयमा बस्ने भएको संसद् सचिवालयले जनाएको हो ।

संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको ४५ औं बैठक दिउँसो १ बजे बोलाइएको छ भने राष्ट्रियसभाको बैठक दिउँसो सवा २ बजेका लागि आह्वान गरिएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले सम्माननीय सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त राज्यमन्त्रीको नियुक्ति तथा कार्याभार सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनु हुने कार्यसूची रहेको छ ।

यसैगरी सभामुख घिमिरेले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १३ बमोजिम गठित कार्यव्यवस्था परामर्श समितिका सदस्यको नाम हेरफेर गर्नुहुने सम्भावित कार्यसूची रहेको छ ।

आजकै बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयबाट जारी भएको बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काउ फुकाउ आदेश सदन समक्ष पेश गर्नुहुने कार्यसूची रहेको छ ।

संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेद्वारा जारी संसद्को कार्यसूची अनुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राष्ट्रिय सभामा उत्पत्ति भएको “शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुहुने छ ।