फाइल तस्वीर
गण्डकी, साउन २० गते । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा क्षेत्रका विद्यमान समस्या समाधान गर्न समग्र शिक्षण तथा मूल्याङ्कन प्रणालीको पुनःसंरचना आवश्यक रहेको बताउनुभएको छ । प्रेस चौतारी कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले विद्यालय शिक्षा ऐन निर्माणमा शिक्षा, स्वास्थ्य तथा सुचना प्रविधि समितिले छलफललाई निरन्तरता दिएको बताउनुभयो ।

त्रिभुवन विश्वविद्यालयलाई व्यवस्थित नगरेसम्म जनमानसमा विश्व विद्यालयप्रति आशा जगाउन नसकिने बताउँदै उहाँले शिक्षा ऐन, नीति र कानुन नभएमा राज्य सञ्चालन गर्न अप्ठ्यारो परिस्थित व्यहोर्नुपर्ने धारणा राख्नुभयो ।

शिक्षा क्षेत्रका समग्र समस्या समाधान गर्न तत्कालीन र दीर्घकालीन प्राथमिकता निर्धारण गरी अघि बढ्ने बताउँदै मन्त्री भट्टराईले विद्यालय खाजा कार्यक्रमलाई स्थानीय उत्पादनसँग जोड्ने लक्ष्यका साथ विभिन्न मन्त्रालयसँग छलफल भइरहेको जानकारी दिनुभयो ।

दोषीलाई दण्ड र निर्दोषलाई सफाइ पाउने प्रणाली व्यवस्थित गर्दै लोकतान्त्रिक राज्यको अवधारणा निर्माण गर्न मन्त्रालय अघि बढेको उहाँको भनाइ छ । उहाँले उच्च शिक्षाको पाठ्यक्रमलाई पुनरावलोकन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

राज्य शिक्षासँग जोडिन अपरिहार्य भएको हुँदा शिक्षालाई नीतिले नेतृत्व गर्नुपर्नेमा जोड दिँदै उहाँले हालै आएको एसईई तथा कक्षा १२ को परीक्षाफल सन्तोषजनक नभएको भन्दै दिगो परीक्षा प्रणालीलाई परिमार्जन गर्नुपर्ने बताउनुभयो ।

वर्तमान सरकार मुलुकमा सुशासन र समृद्धिसहित जनतामा विश्वास र आशा जगाउने लक्ष्यका साथ अघि बढेको उहाँको भनाइ छ ।