तस्वीरः नेपाली काङ्ग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधि ।

काठमाडौँ, साउन २० गते । नेपाली काङ्ग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गर्नुभएको छ । जनकपुरधामको श्रीराम युवा कमिटीको नव निर्वाचित पदाधिकारीहरूको शपथग्रहण समारोहलाई सम्बोधन गर्दै नेता निधिले यो गठबन्धन लामो समयसम्म चल्ने र राजनीतिक स्थायित्व प्रदान गर्ने बताउनुभएको हो ।
नेता निधिले प्रधानमन्त्री केपी शर्मा ओली स्वयंले सांसदमै आफू २ वर्ष प्रधानमन्त्री र त्यसपछि नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने अभिव्यक्ति दिनुभएकाले पनि यो गठबन्धन टिकाउ हुने तर्क गर्नुभयो ।

तत्काल गठबन्धनभित्र कुनै किसिमको असन्तुष्टि हुने सम्भावना नरहेको उहाँको भनाइ थियो । पूर्व उपप्रधानमन्त्री निधिले वर्तमान गठबन्धनले मुलुकलाई राजनीतिक स्थायित्व प्रदान गर्ने बताउँदै यसले देशमा विकासका बाटाहरू समेत प्रशस्त गर्ने दाबी गर्नुभयो ।
उहाँले दुई ठुला दल मिलेर बनेको यो सरकारले मुलुक राजनीतिक, आर्थिक, सामाजिक तथा शैक्षिक विकासको दिशामा काम गर्ने स्पष्ट पार्नुभयो ।