गण्डकी, साउन १९ गते । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले मुलुकमा सुशासन कायम गर्दै समृद्धि हासिल गर्न वर्तमान सरकार गठन भएको बताउनुभएको छ । पोखरा चेम्बर अफ कमर्स कास्कीको पाँचौँ साधारणसभा तथा तेस्रो अधिवेशनको आज पोखरामा उद्घाटन गर्नुहुँदै उहाँले जनतामा आशा जगाउने लक्ष्यका साथ ठूला दुई दल मिलेर सरकार बनेको बताउनुभयो ।

मन्त्री भट्टराईले वर्तमान सरकारलाई अनुशासन विपरीत काम गर्ने छुट नभएको र कानुनी अड्चनलाई आवश्यकताअनुसार परिमार्जन गरेर अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । रोजगार सुनिश्चित गर्ने खालको शिक्षा वर्तमानको आवश्यकता हो भन्नुहुँदै उहाँले बढ्दो युवा पलायनलाई रोक्नु पनि सबै मिलेर काम गर्न जरुरी रहेको धारणा राख्नुभयो । मन्त्री भट्टराईले सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडानका लागि आवश्यक पहल भइरहेको जानकारी दिनुहुँदै यसबाट पर्यटकीय राजधानी पोखराको पर्यटन विकासमा महत्वपूर्ण सहयोग पुग्ने धारणा राख्नुभयो ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य दामोदर बैरागीले उद्योगी–व्यवसायीहरूले संस्थागत हकअधिकारको सुनिश्चिततासहित उत्पादनमा जोड दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

संस्थाका अध्यक्ष एमनाथ पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य गणेशमान गुरुङ, नेपाल कम्युनिष्ट पार्टी (एमाले) कास्कीका अध्यक्ष वैनबहादुर अधिकारी क्षेत्रीलगायत विभिन्न सङ्घसंस्थाका अध्यक्ष एवम् प्रतिनिधिले उद्योग–व्यवसायको वर्तमान अवस्थाका बारेमा विचार व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा पोखरा चेम्बर अफ कमर्सद्वारा प्रकाशित ‘पोखरा चेम्बर दर्पण’ को लोकार्पण गर्नुका साथै संस्थागत विकासमा योगदान गर्ने विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो ।