फाइल तस्वीर
सुर्खेत साउन १८ गते । नेपाल एमाले नेतृत्वको सरकारमा सहभागी हुन गठबन्धन दल नेपाली काङ्ग्रेसले चार मन्त्रीहरुको नाम सिफारिस गरेको छ । कर्णाली प्रदेशसभा दलको बैठकले मुख्यमन्त्री यामलाल कँडेल नेतृत्वको सरकारमा सहभागी गराउन मन्त्रीका लागि चार जनाको नाम सिफारिस गरेको हो ।

दलको आज बसेको बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयमा राजीवविक्रम शाह, सामाजिक विकास मन्त्रालयमा घनश्याम भण्डारी, ऊर्जा तथा जलस्रोत मन्त्रालयमा विजया बुढा र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा सुरेश अधिकारीको नाम सिफारिस गर्ने निर्णय गरेको प्रमुख सचेतक हिक्मतबहादुर विष्टले जानकारी दिनुभयो ।

“दलको बैठकको निर्णयअनुसार सिफारिस भएका चारैजना मन्त्रीको नाम मुख्यमन्त्रीसमक्ष पठाएका छौँ,” उहाँले भन्नुभयो, “तत्काल नियुक्ति दिएर शपथ ग्रहणका लागि प्रदेश प्रमुखसमक्ष अनुरोध गर्ने काम उहाँले अगाडि बढाउनुहुन्छ । सिफारिस मन्त्रीहरुमा विजया बुढा हुम्ला, राजीवविक्रम शाह जाजरकोट, सुरेश अधिकारी सल्यान र घनश्याम भण्डारी दैलेखबाट निर्वाचित प्रदेशसभा सदस्य हुनुहुन्छ ।”

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का चार मन्त्रीले यही साउन ७ गते पदबाट राजीनामा दिंदै सरकारबाट समर्थन फिर्ता लिएको थियो । एमाले र काङ्ग्रेसबीच सत्ता गठबन्धनका लागि नयाँ समीकरण बनेपछि माओवादी केन्द्रका चार मन्त्रीहरुले राजीनामा दिनुभएको थियो । काङ्ग्रेसले रिक्त सोही मन्त्रालयमा मन्त्रीका लागि चार जनाको नाम सिफारिस गरेको हो ।