फाइल तस्वीर

काठमाडौँ, साउन १८ गते । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठक आज बस्दैछ । आलोकनगरस्थित पार्टी मुख्यालयमा सो पार्टीको केन्द्रीय कमिटीको बैठक बस्न लागेको हो ।

महाधिवेशन सम्पन्न भएपछि बस्न लागेको पार्टीको पहिलो केन्द्रीय समितिको बैठकले पदाधिकारी र केन्द्रीय सदस्यहरु चयन गर्ने मुख्य एजेण्डा रहेको छ । पदाधिकारी चयन गर्न नेतृत्वलाई सकस भएपछि पार्टी अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा गठित कार्यदलले सम्पन्न गरेको कार्यसम्पादनको समीक्षा तथा केन्द्रीय कमिटीलाई पूर्णता दिन केन्द्रीय कमिटीको बैठक आह्वान गरिएको हो ।

एकीकृत समाजवादीको महाधिवेशनले २१ पदाधिकारी र दुई सय ९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गरेको थियो । महाधिवेशनले माधवकुमार नेपाललाई अध्यक्षमा, झलनाथ खनाललाई सम्मानित नेता र घनश्याम भूसाललाई महासचिवमा सर्वसम्मत चयन गरेको थियो ।

विधानअनुसार बनाइएको ‘क्लष्टर’ का आधारमा कार्यदलले केन्द्रीय सदस्यको नाम प्रस्ताव गर्ने बैठकमा प्रस्तावित ती नामलाई केन्द्रीय कमिटीले अनुमोदन गर्ने जनाइएको छ । हाल अध्यक्ष, सम्मानित नेता र महासचिवसहित तीन पदाधिकारी, ९० केन्द्रीय सदस्य रहेका छन् । केन्द्रीय कमिटीमा दुई सय ६ केन्द्रीय सदस्य पद रिक्त छ ।

केन्द्रीय कमिटी सदस्यका लागि पार्टीका सातै प्रदेश कमिटीहरुले केन्द्रमा पठाएको सिफारिसका आधारमा नेताहरूको मूल्याङ्कन गरी केन्द्रीय सदस्यको नामावली तयार गरेको बताइएको छ । यो नामावली पार्टीका सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भूसाल सदस्य रहेको कार्यदललाई बुझाइएको छ ।

केन्द्रीय कमिटीको सदस्यका लागि धेरै नेताहरुको आकाङ्क्षा देखिएकोले पार्टीले एकखालको आधार बनाएर केन्द्रीय सदस्य चयन गर्ने रणनीति लिएको थियो । नयाँ पार्टी निर्माण गर्दादेखि विगत र वर्तमानसम्म आइपुग्दा नेताहरुको योगदान, कार्यक्षमता, भूगोल, क्षेत्रलगायत सबै कुरामा सन्तुलन मिलाएर केन्द्रीय कमिटीलाई पूर्णता दिने प्रयास गरेको बताइएको छ ।

आजबाट सुरुहुने केन्द्रीय कमिटीको बैठकले केन्द्रीय सदस्यहरुको टुङ्गो लगाएपछिमात्रै एकीकृत समाजवादीले पार्टी पदाधिकारी चयन गर्ने भएको छ । केन्द्रीय कमिटीको बैठकले देशको बदलिंदो राजनीतिक घटनाक्रम, बामपन्थी शक्तिहरुबीचको एकताका साथै पार्टीको आगामी रणनीति र कार्यदिशाका बारेमा समेत छलफल हुने बताइएको छ ।