काठमाडौँ, साउन १७ गते । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले बागमती नदी प्रणाली, स्मार्ट सिटी, फोहरमैला व्यवस्थापनलगायतका क्षेत्रमा छिट्टै नतिजा देखिनेगरी मन्त्रालयले काम गरिरहेको बताउनुभएको छ ।

मन्त्रालयमा आज काठमाडौँ उपत्यका मेयर्स फोरमका अध्यक्ष चिरिबाबु महर्जनसहितको समूहसँग भएको भेटमा उहाँले उपत्यकामा देखिएको समस्यालाई समाधान गर्न मन्त्रालयले स्थानीय सरकारसँग सहकार्य गरेर काम अघि बढाउने र छिट्टै नतिजा देखिने बताउनुभयो । 

“स्मार्ट सिटीका लागि जग्गा रोक्का हुँदा जग्गाधनीले उपयोग गर्न पाएका छैनन् भन्ने जुन गुनासो सुनिएको छ । चाँडै नतिजा देखिनेगरी मन्त्रालयले काम अघि बढाएको छ । समस्या सम्बोधन हुन्छ भन्नेमा विश्वस्त हुन् आग्रह गर्छु”, उपप्रधानमन्त्री सिंहले भन्नुभयो ।

मेयर्स फोरमका अध्यक्ष महर्जनले उपप्रधानमन्त्री सिंहलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिँदै वर्षाैदेखि स्मार्ट सिटिका लागि जग्गा रोक्का राखिँदा नागरिकलाई समस्या परेको भन्दै रोक्का फुकुवा गर्नुपर्ने, सडक बत्तीको बिल विद्युत् प्राधिकरणले नागरपालिकाका नाममा पठाएको जानकारी गराउँदै पहल गरिदिन आग्रह गर्नुभयो ।

यस विषयमा उपप्रधानमन्त्री सिंहले सडक बत्तीको महसुलको विषयमा ऊर्जा मन्त्रालयसँग छलफल गरेर समाधानतर्फ लैजाने बताउनुभयो । उहाँले स्वच्छ उपत्यका र सफा बागमती बनाउनु आफ्नो प्राथमिकता रहेको भन्दै खोलामा सिधैँ ढल बन्द गर्ने कार्यमा मिलेर सहकार्य गर्न आग्रह गर्नुभयो ।

“उपत्यकाको नदी नाला स्वच्छ गर्न तीनै तहका सरकार मिलेर काम गर्नुपर्छ, यसको कार्ययोजना बनाएर अगाडि बढौँ । स्थानीय सरकारले यसका लागि काम गर्दा कतै अवरोध छ भने सहरी विकास मन्त्रालय सहजीकरणका लागि सधँै तयार छ”, उपप्रधानमन्त्री सिंहले भन्नुभयो ।

उपत्यका मेयर्स फोरममा तीन गाउँपालिकासहित १८ स्थानीय तह छन् ।