फाइल तस्वीरः राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन ।
काठमाडौं, साउन १७ गते । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली काङ्ग्रेस र एमाले मिलेर बहुदलीय व्यवस्था समाप्त पार्न खोजेको आरोप लगाउनुभएको छ । काठमाडौँमा आयोजित पार्टीका जिल्ला अध्यक्षहरुको भेलालाई सम्बोधन गर्ने क्रममा राप्रपा अध्यक्ष लिङ्देनले यस्तो आरोप लगाउनुभएको हो ।

भेलालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष लिङ्देनले देशलाई दुई दलीय व्यवस्थामा लैजानका लागि काङ््ग्रेस र एमाले मिलेर संविधान संशोधन गर्न खोजेको भन्दै काङ्ग्रेस र कम्युनिस्ट पार्टीहरुबाटै बहुदलीय व्यवस्था र समानुपातिक समावेशीता नै धरापमा परेको दावी गर्नुभयो ।

नेता लिङ्देनले उक्त भेलालाई सम्बोधन गर्दै भन्नुभयो –‘२००७ सालको आन्दोलनमा पनि हाम्रो भूमिका थियो, २०४६ सालको पनि हामीले परिवर्तन ल्याएका हौं । ०६२÷६३ सालको आन्दोलन पनि हामीले गरेका हौं भनेर डङ्गा पिट्ने र हामी विना आन्दोलन, परिवर्तन सम्भव थिएन भन्ने काङग्रेस र कम्युनिस्ट पार्टीहरुबाटै यतिबेला देशमा प्रजातन्त्र, बहुदलीय व्यवस्था र समानुपातिक समावेशीता धरापमा परेको छ ।’

काङ्ग्रेस र एमालेले दुवै मिलेर बहुदलीय व्यवस्था समाप्त पारेर दुई दलीय व्यवस्था स्थापना गर्ने कुरा बोल्न थालेको आरोप लगाउनुभयो । अधिनायकवादी सर्वसत्तावादी सोचको विरुद्धमा उभिने जिम्मेवारी राप्रपाको काँधधमा आएको बताउँदै अध्यक्ष लिङ्देनले पार्टीको आधार भनेको जिल्ला, क्षेत्र र स्थानीय तह नै हो, त्यसैले केन्द्रबाट हुने घोषणा र निर्णयले पार्टी बलियो नहुने बताउनुभयो । जिल्ला अध्यक्षको भेलामा पार्टीको विषयमा खुलेर छलफल गर्न र आ–आफ्ना धारणा राख्न समेत अध्यक्ष लिङ्देनले आग्रह गर्नुभएको थियो ।