फाइल तस्वीर
कैलाली, साउन १७ गते । नेत्रहीन युवा सङ्घ नेपालले अपाङ्गता भएका व्यक्तिको राजनीतिका साथै सार्वजनिक निकायमा सहभागिता र प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने माग गरेको छ । सञ्चारमाध्यमार्फत सरोकार भएका पक्षको ध्यानाकर्षण गर्न धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै अपाङ्गताको सवालमा सहभागिता र प्रतिनिधित्वको अधिकार सुनिश्चित हुनेगरी नीति निर्माण गरी कार्यान्वयन गर्नुपर्ने माग गरेको हो ।

‘अपाङ्गता भएका व्याक्तिको राजनीति र सार्वजनिक निकायमा सहभागिता र प्रतिनिधित्वको अधिकारसम्बन्धी सञ्चारमाध्यमसँगको छलफल’ कार्यक्रमका सहभागीले सो कुरा बताएका हुन् । नेत्रहीन युवा सङ्घका केन्द्रीय महासचिव अर्जुन रावलले राज्यले निर्माण गर्ने कुनै पनि नीति तथा कार्यक्रममा अपाङ्गताका विषय समावेश गराउन विभिन्न किसिमका दबबामूलक कार्यक्रम गर्दै आएको बताउनुभयो ।

“अपाङ्गताका सवालमा विभिन्न स्थानीय तहमा पुगेर ज्ञापनपत्र बुझायौँ, प्रदेश सरकार र विभिन्न राजनीतिक दलका प्रदेशसभा सदस्यसँग बसेर कार्यक्रम गर्‍यौँ, राजनीतिक दलका पार्टी कार्यालय र संसदीय दलका पार्टी कार्यालयमा पुग्यौँ, सङ्घीय तहमा पनि सांसदको संलग्नतामा कार्यक्रम गर्‍यौँ”, उहाँले भन्नुभयो, “यसरी विभिन्न समय र सन्दर्भमा अपाङ्गता भएका व्यक्तिको विषय बजेट र नीति तथा कार्यक्रमम समावेश गराउनका लागि दबाबमूलक कार्यक्रम गरिराखेका छौँ । यसको उपलब्धता र सुनुवाइ सन्तोषजनक ढङ्गले भने भएको छैन ।”

सङ्घका केन्द्रीय महासचिव रावलका अनुसार बजेट छुट्याउने काम केही मात्रामा कार्यान्वयन भएको बताउनुभयो । “कार्यक्रममा अपाङ्गताका शब्द उच्चारण गर्न र राख्न थालिएको छ । तर पयाप्त भने छैन”, उहाँले भन्नुभयो

नेत्रहीन युवा सङ्घ नेपाल कैलालीका अध्यक्ष हिमाल रोकायले राज्यका निकायमा अपाङ्गता भएका समुदायको उचित प्रतिनिधित्व सुनिश्चित गर्न÷गराउन दबाब सिर्जना गरिने बताउनुभयो । अन्य समाजको व्यक्ति जस्तै अपाङ्गता भएका व्यक्तिलाई पनि सम्मानपूर्वक भावनाले हेरिनुपर्र्नेमा उहाँले जोड दिनुभयो ।

राजनीतिक दलमा अपाङ्गता भएका व्यक्तिको सार्थक एवं प्रभावकारी सहभागिता तथा प्रतिनिधित्व हुनुपर्ने, पहुँचयुक्त निर्वाचन प्रणालीमार्फत मताधिकार उपयोग गर्ने र राज्यका निकायमा अपाङ्गता भएका समुदायको उचित प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने, कुनै पनि नीति निर्माण एवं निर्णय प्रक्रियामा सबै किसिमका आवाजले समोचित स्थान पाउनुपर्नेलगायत माग नेत्रहीन युवा सङ्घले गरेको छ ।

त्यस्तै स्थानीय तहमा अपाङ्गता भएका समुदायको प्रतिनिधित्व नहुने परिस्थिति रहेकाले निर्वाचनमा अपाङ्गता भएका व्यक्तिको प्रतिनिधित्वका निम्ति आरक्षणको व्यवस्था गरिनुपर्ने, राजनितिक दलका संरचनागत तह र जनवर्गीय सङ्गठनमा अपाङ्ता भएका व्यक्तिको अर्थपूर्ण एवं प्रभावकारी प्रतिनिधित्व हुनुपर्ने, सार्वजनिक भवन र भौतिक संरचना अपाङ्तामैत्री हुनुपर्ने, दलीय आन्तरिक प्रतिस्पर्धा तथा विभिन्न आवधिक निर्वाचनका क्रममा अपाङ्गता भएका व्यक्तिको सहभागिता तथा प्रतिनिधित्वका निम्ति निश्चित सङ्ख्या छुट्याई उनीहरुलाई चुन्ने तथा चुनिने व्यवस्था गर्नरगराउनलगायत विभिन्न माग सङ्घले राखेको छ ।