फाइल तस्वीर
कैलाली, साउन १७ गते । धनगढी उपमहानगरपालिकाको आन्तरिक आयमा निरन्तर वृद्धि हुँदै गएको छ । पछिल्ला पाँच वर्षको तथ्याङ्क अनुसार आन्तरिक आयमा निरन्तर वृद्धि हुँदै गएको हो ।

आर्थिक वर्ष २०७६/७७ देखि गत आवसम्मको पाँच वर्षको अवधिमा हरेक वर्ष आन्तरिक आम्दानी बढ्दै गएको उपमहानगरका राजस्व शाखा प्रमुख लेखनाथ ओझाले जानकारी दिनुभयो । उहाँका अनुसार उपमहानगरले आव २०७६/७७ मा १४ करोड ५४ लाख ७३ हजार रुपैयाँ आन्तरिक आम्दानी गरेकामा आव २०७७/७८ मा २० करोड ६० हजार रुपैयाँ, आव २०७८/७९ मा २२ करोड १८ लाख २९ हजार रुपैयाँ, आव २०७९/८० मा २७ करोड ९२ लाख १५ हजार रुपैयाँ र गत आवमा ३३ करोड १२ लाख ५२ हजार रुपैयाँ आम्दानी गरेको छ ।

राजस्व शाखा प्रमुख ओझाले भन्नुभयो, “हरेक वर्ष उपमहानगरको आन्तरिक आम्दानी बढ्दै गएको छ । करका दायरा बढ्दै जाँदा आन्तरिक आम्दानी बढ्दै गएको हो ।” उपमहानगरले गत आवमा सम्पत्ति करबाट तीन करोड ४४ लाख २९ हजार रुपैयाँ, भूमिकर एक करोड पाँच लाख ४५ हजार रुपैयाँ, बहालकर सात करोड ५५ लाख ८१ हजार रुपैयाँ, बहाल बिरौटीकर ४५ लाख १२ हजार रुपैयाँ, सवारीसाधन कर छ लाख ४० हजार रुपैयाँ र अन्य करबाट पाँच लाख ४९ हजार रुपैयाँ यथार्थ आम्दानी गरेको उहाँले जानकारी दिनुभयो ।

राजस्व शाखा प्रमुख ओझाका अनुसार सरकारी सम्पति बहालबाट प्राप्त आय ९४ लाख १७ हजार रुपैयाँ, सरकारी सम्पत्ति बिक्रीबाट ६७ हजार रुपैयाँ, अन्य सेवा शुल्कबाट ३८ लाख ७७ हजार रुपैयाँ, शिक्षा क्षेत्रको आम्दानी २३ लाख १९ हजार रुपैयाँ, पार्किङ शुल्कबाट ७८ लाख ९७ हजार रुपैयाँ, नक्सा पास दस्तुरबाट तीन करोड नौ लाख ६९ हजार रुपैयाँ, सिफारिस दस्तुरबाट एक करोड ९२ लाख ७१ हजार रुपैयाँ यथार्थ आम्दानी भएको छ ।

व्यक्तिगत घटना दर्ता दस्तुर १६ लाख १८ हजार रुपैयाँ, नाता प्रमाणित दस्तुर चार लाख ८७ हजार रुपैयाँ, अन्य दस्तुरबाट नौ लाख ३६ हजार रुपैयाँ, प्रशासनिक दण्डजरिवानाबाट ७४ लाख २९ हजार रुपैयाँ, व्यवसायबाट तीन करोड ९८ लाख ५६ हजार रुपैयाँ, अन्य राजस्व सात करोड ९२ लाख ३४ हजार रुपैयाँ, बेरुजुबापत छ लाख ५८ हजार रुपैयाँ, सामुदायिक वनबाट प्राप्त आय ३२ हजार रुपैयाँ, विज्ञापन करबाट पाँच हजार रुपैयाँ र अन्यबाट नौ लाख १३ हजार रुपैयाँ यथार्थ आम्दानी भएको उहाँले जानकारी दिनुभयो ।